बि.स. : २०८२ चैत्र २१, आइतबार

आईसीसी पुरुष टीट्वेन्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल आइपुगे

Aarya News Desk 2492  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

काठमाडौं। अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टीट्वेन्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल आइपुगेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार पत्रकार सम्मेलन गर्दै टीट्वेन्टी विश्वकप ट्रफी नेपाल आइपुगेको जानकारी दिएको हो।

विश्वकप ट्रफी विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने क्यानका जनरल म्यानेजर वृतान्त खनालले जानकारी दिए। उनले ‘ट्रफी टुर’अन्तर्गत विश्वकप ट्रफी नेपाल ल्याइएको जानकारी दिए। टीट्वेन्टी विश्वकप ट्रफीलाई विश्वका विभिन्न मुलुकको भ्रमण गराउने क्रममा नेपाल ल्याइएको हो।

मंगलबार बिहान सगरमाथाको काखमा रहेको गोक्यो तालमा विश्वकप ट्रफी प्रदर्शनी गरिनेछ। त्यसपछि बुधबार बिहान भक्तपुर दरबारस्क्वायरमा ट्रफी प्रदर्शनीमा राखिने छ। क्रिकेटप्रेमीले ट्रफी हेर्न र तस्बिर खिच्न पाउने छन्। ट्रफी टुरमा नेपालका पूर्व क्रिकेटर मेहबुब आलम सहभागी हुने छन्। टीट्वेन्टी विश्वकप क्रिकेटको सय दिने काउन्टडाउन सुरु गर्दै ट्रफी विभिन्न मुलुकमा भ्रमण गराइएको हो। गत जुलाईमा अस्ट्रेलियाको मेलबर्नमा सय दिने काउन्टडाउनसँगै ट्रफी टुरको शुभारम्भ गरिएको थियो। ट्रफी टुरको अस्ट्रेलियाका चर्चित क्रिकेटर एरोन फिन्च, जर्जिया वेयरहाम, तायला ब्लामिन्क, शेन वाटसन, वाकर युनिस, मोर्ने मोर्केलगायतले सुरु गरेका थिए।

विश्वकप ट्रफी चार महाद्विपका १३ देशका ३५ स्थानमा पुर्‍याइँदै छ। विश्वकप क्रिकेटको ट्रफी नेपालमा दोस्रो पटक ल्याएको हो। यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकप ट्रफी नेपाल ल्याइएको थियो। अस्ट्रेलियाको सात सहरमा आयोजना हुने टीट्वेन्टी विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ। विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित मिति: २०२२-०८-३० , समय : ११:३४:१४ , ४ वर्ष अगाडि

error: Content is protected !!