बि.स. : २०८३ मंसिर १०, बुधबार

सरकारलाई दिए कडा चेतावनी ! पक्राउ गर्न आउँदा हतकडी लिएर आउनु : सभापति थापा

Aarya News Desk 1451  पटक हेरिएको

सरकारलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको कडा चुनौती ! आफूलाई पक्राउ गर्न आउने हो भने खाली हात नभई हतकडी लिएर आउन उनले सरकारलाई चेतावनी दिएका छन्।

सरकारका कुनै पनि व्यक्तिले आफूहरूलाई तर्साउन खोजेको भए गलत पार्टी र गलत मान्छे रोजेको टिप्पणी गर्दै थापाले प्रतिपक्षीको आवाज दबाउने प्रयास भए सशक्त प्रतिवाद गर्ने बताएका छन्।

कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस सरकारको हरेक गतिविधिमा आवश्यकताअनुसार समर्थन र विरोध गर्ने पक्षमा रहेको स्पष्ट पारे। प्रतिपक्षी दलहरूको छुट्टै गठबन्धन बनाउने पक्षमा आफूहरू नरहेको बताउँदै उनले सरकारलाई सहयोग गर्नुपर्ने ठाउँमा सहयोग गर्ने र गलत कामको विरोध गर्नुपर्ने ठाउँमा सशक्त रूपमा आवाज उठाउने बताए।

उनले सरकार र नागरिकबीच देखिएका दूरी तथा कमजोरीलाई औँल्याउँदै कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि स्पष्ट पारे।

यसैबीच, सुकुम्बासी व्यवस्थापनको विषयलाई लिएर थापाले सरकारसँग गम्भीर प्रश्न उठाएका छन्। अदालतले रोक्दारोक्दै घरबार भएका नागरिकलाई उठिबास लगाइएको भन्दै त्यसको समाधान खोइ भनेर उनले सरकारसँग जवाफ मागेका छन्। सरकारले अध्यादेश ल्याए पनि त्यसलाई प्रतिस्थापन गर्ने विधेयक किन नल्याएको भन्दै उनले प्रश्न गरेका छन्। भदौ २३ र २४ गतेका घटनासम्बन्धी अध्यादेशबारे पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ।

सरकारले आफ्ना नजिकका व्यक्ति वा पार्टीका सदस्यलाई संरक्षण गर्न नहुनेमा पनि थापाले जोड दिएका छन्। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि आफूहरूले नजिकका व्यक्तिले गल्ती गरेकै आधारमा उन्मुक्ति पाउन नहुने धारणा राखेको स्मरण गराउँदै उनले वर्तमान प्रधानमन्त्री बालेन शाहनिकट व्यक्ति वा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएकै कारण कसैले पनि कानुनी कारबाहीबाट छुट पाउन नहुने बताएका छन्।

सरकारलाई निजी कम्पनीजस्तो सञ्चालन गर्न खोजिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिँदै उनले सरकार सरकारजस्तो र प्रतिपक्ष प्रतिपक्षीजस्तो हुनुपर्ने बताएका छन्।

त्यस्तै, निवर्तमान सभापति शेरबहादुर देउवाको अभिव्यक्तिप्रति पनि थापाले असन्तुष्टि व्यक्त गरेका छन्। प्रजातान्त्रिक आन्दोलनमा देउवाको ठूलो योगदान रहेको उल्लेख गर्दै उनले देउवाले आफ्नो राजनीतिक हैसियत र मर्यादा कायम राख्नुपर्ने बताएका छन्।

देउवासँग प्रतिस्पर्धा गरेर आफू सभापति बने पनि उनलाई सम्मानित स्थानमा देख्न चाहेको थापाको भनाइ छ। जेनजी आन्दोलनका क्रममा देउवाको निवासमा भएको आगजनीको विषयलाई जोडेर गगन थापाले नै घर जलाएको भन्ने आशयको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको प्रसंग उल्लेख गर्दै उनले उक्त भिडियोप्रति देउवाले समेत समर्थन जनाएजस्तो देखिनु आफूलाई चिन्ताजनक लागेको बताएका छन्।

यसैगरी, विशेष महाधिवेशनपछि नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्न आफू तयार रहेको पनि थापाले बताएका छन्। महाधिवेशनमा छुटेका नेता तथा कार्यकर्तालाई समेत समेटेर अघि बढ्न छलफल गर्न आफू तयार रहेको उनको भनाइ छ।

कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दामा पुनरावलोकनका लागि निस्सा प्रदान गरिएको विषयलाई लिएर केही नेताहरू अन्योलमा रहेको उल्लेख गर्दै थापाले संसद् पुनःस्थापनासम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन रहेको बताएका छन्।

आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचन आफ्नै नेतृत्वमा हुने दाबी गर्दै सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तालाई अनावश्यक भ्रममा नपर्न र संगठन निर्माणमा जुट्न आग्रह गरेका छन्।

सरकारलाई आवश्यक ठाउँमा साथ दिने तर गलत कदमविरुद्ध कुनै हालतमा पछि नहट्ने सन्देश दिँदै सभापति गगनकुमार थापाले कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामा रहने स्पष्ट पारेका छन्।

प्रकाशित मिति: २०२६-११-२४ , समय : १८:१९:५४ , १ दिन अगाडि

error: Content is protected !!