बि.स. : २०८३ कार्तिक २०, बिहिबार

आज देशभर श्रद्धा–भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी मनाइँदै

Aarya News Desk 14601  पटक हेरिएको

देवानगञ्ज । आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गर्दै श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।

भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार प्रत्येक वर्ष यही दिन जन्माष्टमी मनाउने गरिन्छ। भगवान् विष्णुको आठौँ अवतारका रूपमा पूजिने श्रीकृष्णलाई सत्य, धर्म र सत्कर्मको मार्ग देखाउने भगवान्का रूपमा हिन्दू धर्मावलम्बीहरूले श्रद्धा गर्ने गर्छन्।

जन्माष्टमीको अवसरमा देशभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। मन्दिरहरूमा विशेष पूजा–आराधना, भजन–कीर्तन तथा धार्मिक प्रवचन भइरहेका छन्।

श्रद्धालुहरू दिनभर व्रत बसेर मध्यरातमा भगवान् श्रीकृष्णको जन्मोत्सव मनाउँदै विशेष पूजा गर्ने तथा रातभर जाग्राम बस्ने परम्परा रहँदै आएको छ।

महाभारतको कुरुक्षेत्र युद्धका क्रममा अर्जुनलाई भगवान् श्रीकृष्णले दिएको उपदेशलाई श्रीमद्भागवतगीताका रूपमा हिन्दू धर्मको महत्वपूर्ण ग्रन्थ मानिन्छ। श्रीकृष्णको बाल्यकालदेखि जीवनका विभिन्न प्रसङ्गलाई धार्मिक तथा पौराणिक कथाहरूमा विशेष महत्वका साथ वर्णन गरिएको छ।

जन्माष्टमीका अवसरमा विराटनगरस्थित राधाकृष्ण मन्दिरसहित देशभरका प्रसिद्ध कृष्ण मन्दिरमा विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना गरिएको छ। मन्दिरहरूमा दर्शन तथा पूजा गर्न भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ।

विभिन्न धार्मिक संघसंस्थाले भगवान् श्रीकृष्णका झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत आयोजना गरेका छन्।

विराटनगरमा भने जन्माष्टमीको भोलिपल्ट अर्थात् भाद्रकृष्ण नवमीका दिन भव्य रथयात्रा निकाल्ने परम्परा छ। विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रालाई एसियाकै दोस्रो ठूलो रथयात्राका रूपमा समेत चिनिन्छ। रथयात्रामा नेपालका विभिन्न स्थानसँगै छिमेकी भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु तथा भक्तजन सहभागी हुने गर्छन्।

धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको श्रीकृष्ण जन्माष्टमीका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।

प्रकाशित मिति: २०२६-०९-०४ , समय : १०:०४:०४ , २ महिना अगाडि

error: Content is protected !!