विराटनगर । नयाँ शैक्षिक सत्रको सुरुआतसँगै विराटनगरस्थित विराट मोडेल कलेजमा उत्साहपूर्ण वातावरण देखिएको छ। कलेजले यस वर्ष भर्ना भएका ३५२ जना नयाँ विद्यार्थीलाई स्वागत गर्दै र अध्ययन पूरा गरेका ७५ जना विद्यार्थीलाई विदाइ गर्दै विशेष कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा शैक्षिक सफलतासँगै प्रतिस्पर्धात्मक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। लोकसेवा आयोग, शिक्षा सेवा आयोग लगायतका विभिन्न परीक्षामा सफलता हासिल गरेका विद्यार्थीहरूलाई कलेजले सम्मानपत्रसहित अभिनन्दन गरेको थियो।
प्रमुख अतिथि डा. गोविन्द गुरागाईं ले आजको प्रतिस्पर्धी युगमा डिग्री मात्र नभई ज्ञान, सीप र अनुशासन आवश्यक रहेको बताउँदै विद्यार्थीलाई लक्ष्यप्रति केन्द्रित हुन सुझाव दिए।
कलेजका अध्यक्ष प्रा.डा. जनक अधिकारी लगायतका पदाधिकारीहरूले विद्यार्थीलाई सम्मान तथा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा कलेजका निर्देशक देवीलाल महतो ले संस्थाले शैक्षिक गुणस्तर, नेतृत्व विकास, अनुसन्धान र रोजगारमुखी शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए।
हाल बीएड र बीबीएस संकायमा १ हजार ११५ जना विद्यार्थी अध्ययनरत रहेको कलेजले जनाएको छ। पूर्वी नेपालमा उच्च शिक्षाको आकर्षण बढिरहेका बेला विराट मोडेल कलेजले गुणस्तरीय शिक्षा र प्रतिस्पर्धी परीक्षामा सफल जनशक्ति उत्पादनमार्फत आफ्नो पहिचान बलियो बनाउँदै गएको दाबी गरेको छ।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुति दिएर वातावरणलाई थप उल्लासमय बनाएका थिए।
प्रकाशित मिति: २०२६-०६-२० , समय : १६:२४:०९ , २ घन्टा अगाडि