विराटनगर । बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको एशोसिएट हस्पिटल डाइरेक्टर (Associate Hospital Director) पदमा वरिष्ठ सर्जन तथा प्राध्यापक डा. रोहित प्रसाद यादव नियुक्त भएका छन्।
हस्पिटलको सञ्चालक समितिको बैठकले यादवलाई Associate Hospital Director मा नियुक्त गरेको हो । यसअघि उनी सोही हस्पिटलको सर्जरी विभाग प्रमुख (HOD – Surgery) को रूपमा कार्यरत थिए।
उनको लामो चिकित्सकीय अनुभव, नेतृत्व क्षमता तथा प्रशासनिक दक्षतालाई कदर गर्दै हस्पिटलले उनलाई व्यवस्थापकीय नेतृत्वको महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरेको हो। नवनियुक्त एशोसिएट हस्पिटल डाइरेक्टरको रूपमा डा. यादवले अब हस्पिटलको दैनिक प्रशासनिक कार्य सञ्चालन, उपचार सेवाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने तथा हस्पिटलको दीर्घकालीन रणनीतिक विकासमा मुख्य भूमिका खेल्नेछन्।
आफ्नो नयाँ जिम्मेवारी बारे प्रतिक्रिया दिँदै प्रा. डा. रोहित प्रसाद यादवले भने, “बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले मप्रति देखाएको विश्वास र दिएको जिम्मेवारीप्रति म अत्यन्त आभारी छु। अस्पताल प्रशासन, चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरूसँग सहकार्य गर्दै बिरामीलाई अझ गुणस्तरीय, सहज र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने दिशामा निरन्तर प्रयास गर्नेछु।”
डा. यादवको नियुक्तिले बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको सेवा प्रवाह अझ प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बन्ने विश्वास अस्पताल प्रशासनले लिएको छ। पूर्वी नेपालकै प्रतिष्ठित स्वास्थ्य संस्थाको रूपमा स्थापित यस हस्पिटलमा डा. यादवको अनुभव, नेतृत्व क्षमता र प्रतिबद्धताले संस्थालाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २०२६-०४-१० , समय : १४:०६:२७ , ५ घन्टा अगाडि