बि.स. : २०८२ चैत्र १८, बिहिबार

भोलिबाट SEE परीक्षा, जापानको एक केन्द्रसहित देशभर एकसाथ हुने

AARYA NEWS DESK 4289  पटक हेरिएको

काठमाडौं। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहीबार बिहान ८ बजेदेखि देशभरका १,९६६ परीक्षा केन्द्रमा परीक्षा एकैसाथ सुरु हुनेछ। जापानमा रहेको एक परीक्षा केन्द्रबाट समेत विद्यार्थीहरू सहभागी हुनेछन्।

कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। जापानस्थित केन्द्रबाट २३ जना परीक्षार्थीले परीक्षा दिनेछन्। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी रहेका छन्। परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०७ छात्र र अन्य ७ जना छन्।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी बागमती प्रदेशबाट १ लाख ९ हजार ५१३ विद्यार्थी सहभागी हुँदैछन्। त्यसपछि लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२, मधेस प्रदेशबाट ९० हजार २४३, कोशी प्रदेशबाट ८२ हजार ४८७, सुदूरपश्चिमबाट ५४ हजार ६३५, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ र कर्णाली प्रदेशबाट ३९ हजार ७६९ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। त्यसपछि चैत २० गते नेपाली, २२ गते गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम पत्र, २६ गते ऐच्छिक द्वितीय पत्र र चैत २७ देखि २९ गतेसम्म प्राविधिक धारका विषयहरूको परीक्षा सञ्चालन गरिनेछ।

यस वर्षको विशेषता भनेको नतिजा प्रकाशन प्रक्रिया छिटो बनाइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले १५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए पनि प्राविधिक कारणले एक महिनाभित्र नतिजा प्रकाशन गर्ने तयारी गरिएको बोर्डले जनाएको छ। यसअघि ४५ दिनसम्म लाग्ने व्यवस्था रहेकामा यस वर्ष समय छोट्याइएको हो।

यसैबीच, उत्तरपुस्तिका परीक्षण प्रक्रियामा पनि सुधार गरिएको छ। अब परीक्षा सम्पन्न भएको दिनमै सम्बन्धित केन्द्रमा परीक्षक र सम्परीक्षकमार्फत जाँच गरिनेछ र लब्धाङ्कपत्र शिक्षा विकास तथा समन्वय एकाइ हुँदै परीक्षा नियन्त्रण कार्यालय पठाइने व्यवस्था गरिएको छ। यसले नतिजा प्रकाशनलाई अझ छिटो र व्यवस्थित बनाउने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०२६-०४-०१ , समय : २१:४२:०८ , १ दिन अगाडि

error: Content is protected !!