बि.स. : २०८३ आषाढ ०३, बुधबार

अनुशासन तोड्नेविरुद्ध एक्सनमा कांग्रेस, ५०७ जनाको फाइल खुल्यो

AARYA NEWS DESK 13732  पटक हेरिएको

काठमाडौं। नेपाली कांग्रेस भित्र अनुशासनको प्रश्न फेरि सतहमा आएको छ। प्रतिनिधिसभा निर्वाचनसँग जोडिएका घटनालाई लिएर ५०७ जनाविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी परेको हो।

सानेपास्थित केन्द्रीय कार्यालयमा तारामान गुरुङ को नेतृत्वमा बसेको बैठकले ती उजुरीमाथि छानबिन गरी छिट्टै निष्कर्षमा पुग्ने निर्णय गरेको छ।

उजुरीमा समेटिएकाहरूमा स्वतन्त्र उम्मेदवार बनेका, पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध खुलेआम प्रचारमा उत्रिएका, विपक्षीलाई प्रत्यक्ष–अप्रत्यक्ष साथ दिएका, ‘साइलेन्स किलिङ’ मार्फत मत प्रभावित पारेका तथा आफ्नै पार्टीविरुद्ध काम गरेको आरोप लागेका प्रतिनिधिसमेत छन्।

समितिले अब आरोपित सबैसँग सात दिनभित्र स्पष्टीकरण माग्ने प्रक्रिया अघि बढाउने जनाएको छ। सचिव दिनेश थापामगर का अनुसार त्यसपछि मात्र कारबाहीको अन्तिम टुङ्गो लगाइनेछ।

त्यसैगरी, नक्कली लेटरप्याड प्रयोग गरेर आफूलाई पार्टीको जिम्मेवार व्यक्तिका रूपमा प्रस्तुत गर्दै अनधिकृत वक्तव्य दिने प्रवृत्तिप्रति पनि समिति कडा देखिएको छ। यस्ता गतिविधि दोहोरिए नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) अनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

अनुशासन उल्लङ्घनसम्बन्धी उजुरी २०८२ चैत मसान्तभित्र मात्रै दर्ता गरिने र त्यसपछि आएका उजुरीमाथि कारबाही नहुने पनि समितिले स्पष्ट पारे को छ।

प्रकाशित मिति: २०२६-०४-०१ , समय : २१:१९:५६ , ३ महिना अगाडि

error: Content is protected !!