बि.स. : २०८२ चैत्र १९, शुक्रबार

आत्महत्या बढ्दो ग्राफमा: समाज किन अझै मौन?

दशरथ मेहता 9624  पटक हेरिएको

पछिल्ला दिनहरूमा हाम्रो समाजमा आत्महत्याका घटनाहरू दिनानुदिन बढ्दै गइरहेका छन् । विशेषगरी किशोर किशोरी (Teen Age) उमेर समूहमा यस्ता दुःखद घटनाहरू बढ्नु अत्यन्त चिन्ताजनक विषय बनेको छ । हाम्रो गाउँपालिकामा पनि विगतका दिनहरूमा पटक पटक यस्ता घटनाहरू घटिरहेका समाचारहरू आइरहेका छन्, जसले सम्पूर्ण समुदायलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ ।

किशोर अवस्था जीवनको अत्यन्त संवेदनशील चरण हो । यही उमेरमा व्यक्तित्व विकास, भावनात्मक परिवर्तन र भविष्यप्रतिको चिन्ता तीव्र हुने गर्दछ । अध्ययनको दबाब, परिवारसँगको संवादको कमी, सामाजिक सञ्जालको प्रभाव, प्रेम सम्बन्धका समस्या वा भविष्यप्रतिको अन्योल जस्ता कारणहरूले किशोर किशोरीहरू मानसिक तनावमा पर्न सक्छन् । जब उनीहरूलाई आफ्नो पीडा व्यक्त गर्ने सुरक्षित वातावरण वा साथ दिने व्यक्तिको अभाव हुन्छ, तब उनीहरू गलत निर्णयतर्फ धकेलिन सक्छन् ।

आत्महत्या कुनै एक व्यक्तिको मात्र समस्या होइन, यो परिवार, समाज र समग्र प्रणालीसँग जोडिएको विषय हो । त्यसैले यसको समाधान पनि सामूहिक प्रयासबाट मात्र सम्भव हुन्छ । अभिभावकहरूले आफ्ना छोराछोरीसँग खुला संवाद गर्ने, शिक्षकहरूले विद्यालयमा मनोवैज्ञानिक परामर्श र सहायक वातावरण सिर्जना गर्ने तथा स्थानीय तहले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

त्यस्तै, समाजका अगुवा, सामाजिक संस्था र युवा समूहहरूले मानसिक स्वास्थ्यबारे खुला छलफल गर्ने वातावरण बनाउनु जरुरी छ । समस्यामा परेका व्यक्तिलाई दोष दिने वा अपमान गर्ने संस्कारलाई त्यागेर सहानुभूति, सहयोग र समझदारीको संस्कृतिलाई बलियो बनाउनु आजको आवश्यकता हो ।

जीवन अमूल्य छ । कुनै पनि समस्या जीवनभन्दा ठूलो हुँदैन । त्यसैले हामी सबैले मिलेर मानसिक स्वास्थ्यप्रति सचेत हुँदै आत्महत्या न्यूनीकरणतर्फ ठोस पहल गर्न जरुरी छ । आजको सानो सचेतना र सहयोगले भोलिको एउटा अमूल्य जीवन बचाउन सक्छ ।

प्रकाशित मिति: २०२६-०३-२८ , समय : १०:४३:४२ , ६ दिन अगाडि

error: Content is protected !!