विराटनगर । मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित औषधी तथा लागू औषध ब्राउन सुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
माघ २९ गते विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका–४ चोप्राहाका २६ वर्षीय विपिन कुमार मण्डललाई रंगेली–७ बाट ६ ग्राम ४३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
त्यसैगरी इलाका प्रहरी कार्यालय तरहरा सुनसरीले इटहरी–२० बाट सोही स्थानका इमन याख्खा, सुजन राई र निमा घलेलाई ८० चक्की प्रतिबन्धित औषधीसहित पक्राउ गरेको जनाएको छ।
यस्तै अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवा ले इटहरी–१८ का २४ वर्षीय परमेश्वर चौधरीलाई १ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी चौकी जनताबस्ती ले धरान–५ का फुर्वा तामाङलाई इटहरी–५ बाट ५२ चक्की प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ।
पक्राउ परेका सबैको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०२-१३ , समय : १२:३१:५७ , २ महिना अगाडि