देवानगञ्ज। दाङबाट भारततर्फ लैजान लागिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले बर्दियाबाट उद्धार गरेको छ। घोराही क्षेत्रबाट भारतीय नागरिकहरूले बर्दिया मार्ग हुँदै सीमा पार गराउने प्रयास गरिरहेको अवस्थामा गुलरिया नगरपालिका–७ भन्सार रोड नजिकैबाट उनीहरूलाई सुरक्षित रूपमा फेला पारिएको हो।
उद्धार गरिएका बालबालिकामा दाङको चौघेरा पुलवारीका ८ वर्षीय बालक तथा रोल्पाको उपरकोटकी १५ वर्षीया र खाराकी १३ वर्षीया बालिका रहेका छन्। प्रहरीले बालबालिकाका परिवारसँग सम्पर्क स्थापित गरिसकेको र आवश्यक समन्वय प्रक्रिया अघि बढाइएको जनाएको छ।
घटनामा संलग्न भएको आशंकामा भारतको उत्तर प्रदेशका ६ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा बहराइचका ७४ वर्षीय लेडी महत, उनका ३४ वर्षीय छोरा हिरालाल महत, २६ वर्षीया ज्ञानकुमारी महत, अयोध्याको गोलाई गाउँकी ३५ वर्षीया सुनिता महत, बहराइचका २४ वर्षीय भुल्लु महत र १९ वर्षीय मुकेश महत रहेका छन्। उनीहरूसँग एक काखे बालकसमेत रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू दाङको घोराही बजार क्षेत्रमा गमला (फूलका भाँडा) सम्बन्धी काम गर्दै आएका थिए। बालबालिकालाई भारत कुन उद्देश्यले लैजान खोजिएको थियो भन्नेबारे विस्तृत अनुसन्धान जारी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। हाल बालबालिकालाई आफन्तको जिम्मा लगाउने तयारीसहित आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रकाशित मिति: २०२६-०२-११ , समय : १४:३४:४३ , ५ घन्टा अगाडि