बि.स. : २०८२ माघ २६, सोमबार

बहुमत असन्तुष्ट, तर विभाजनले पुरानै व्यवस्था कायम

Aarya News Desk 10745  पटक हेरिएको

वर्षौँदेखि एउटै प्रकारको खाजा वितरण हुँदै आएको एक कार्यालयमा कर्मचारीहरूको असन्तुष्टि चुलिँदै गएपछि परिवर्तनको मागसहित आन्दोलन भएको छ। कर्मचारीहरूले लामो समयदेखि दोहोरिँदै आएको व्यवस्थाको विकल्प खोज्नुपर्ने माग अघि सारेका थिए।
व्यवस्थापन पक्षले माग सुन्दै पुरानो खाजाको सट्टा नयाँ विकल्प राख्न सकिने बताएको थियो। तर त्यसका लागि कर्मचारीहरूबीच कुन विकल्प रोज्ने भन्नेमा साझा सहमति आवश्यक हुने सर्त राखिएको थियो।

त्यसपछि सुरु भएको छलफलमा कर्मचारीहरू विभिन्न समूहमा विभाजित भए। कसैले समोसा, कसैले मोमो, कसैले रोटी, कसैले पुरी–तरकारीको प्रस्ताव अघि सारे। पुरानो व्यवस्था हटाउनुपर्ने विषयमा बहुमत सहमत देखिए पनि नयाँ विकल्पमा एकमत हुन सकेन।

सहमति जुट्न नसकेपछि व्यवस्थापनले मतदान प्रक्रिया अपनायो। सार्वजनिक गरिएको परिणामअनुसार समोसा २० प्रतिशत, मोमो २२ प्रतिशत, रोटी १८ प्रतिशत, पुरी–तरकारी १५ प्रतिशत र पुरानो खाजाले २५ प्रतिशत मत प्राप्त गर्‍यो।

मतपरिणामको विश्लेषण गर्दा ७५ प्रतिशत कर्मचारी पुरानो व्यवस्थाको विपक्षमा देखिए पनि मत विभाजन भएका कारण सबैभन्दा बढी मत पाएको भन्दै पुरानै व्यवस्था पुनः कायम गरिएको छ।

सरोकारवालाहरूले यस अवस्थालाई प्रतीकात्मक रूपमा व्याख्या गर्दै बहुमतको असन्तुष्टि मात्र पर्याप्त नहुने बताएका छन्। उनीहरूका अनुसार साझा धारणा र न्यूनतम सहमति बिना विभाजित मतले अन्ततः संगठित सानो समूहलाई नै लाभ पुर्‍याउने परिस्थिति सिर्जना हुन्छ।

यो घटनाले असन्तुष्टि व्यापक भए पनि आन्तरिक विभाजनले परिवर्तनको सम्भावनालाई कमजोर बनाउने प्रवृत्तिलाई उजागर गरेको विश्लेषण गरिएको छ।

प्रकाशित मिति: २०२६-०१-२५ , समय : १०:०५:३७ , २ हप्ता अगाडि

error: Content is protected !!