बि.स. : २०८२ माघ २६, सोमबार

विद्यालयको ७४ लाख नतिरेको आरोप, रास्वपा उम्मेदवार थापा विवादमा

Aarya News Desk 4769  पटक हेरिएको

सुनसरी । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सुनसरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लाल विक्रम थापा विवादको केन्द्रमा परेका छन्। थापाले विद्यालयको लाखौँ रुपैयाँ बक्यौता नतिरेको आरोपसहित उनको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको हो।

स्थानीय सत्य नारायण पण्डितले दायर गरेको उजुरीमा थापा सञ्चालक रहेको सनमुन प्लाजा नामक फर्मले इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर निर्माण गरेको भवनबापत ठूलो रकम बाँकी राखेको उल्लेख गरिएको छ। विद्यालयको आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार उक्त फर्मले विद्यालयलाई ७४ लाख १ सय ५० रुपैयाँ तिर्न बाँकी छ।

उजुरीमा भनिएको छ— बक्यौता रकम फर्स्यौट नगरेपछि विद्यालय प्रशासनले २०८२ पुस २४ गते सुनसरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ भने सोही विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि विचाराधीन छ।

थापाले बक्यौता तिर्नु पर्ने अवस्थामै सनमुन प्लाजा फर्म वाणिज्य विभागमा आफ्नै नजिकको नातेदारको नाममा नामसारी गराएको आरोप पनि उजुरीमा गरिएको छ। यद्यपि आन्तरिक राजस्व कार्यालयमा भने उक्त फर्म अझै थापाकै नाममा दर्ता रहेको दाबी गरिएको छ।

निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद १०, बुँदा ४२ अनुसार बेरुजु वा बक्यौता फर्स्यौट नगरेको व्यक्ति उम्मेदवार हुन नपाउने स्पष्ट व्यवस्था रहेको भन्दै थापाको उम्मेदवारी बदर हुनुपर्ने माग गरिएको हो।

निर्वाचन अधिकृतको कार्यालय, सुनसरी क्षेत्र नं. २ ले उजुरी दर्ता भएको पुष्टि गरेको छ। उजुरीको भरपाईसमेत जारी भइसकेको छ। अब निर्वाचन अधिकृतको छानबिनपछि थापाको उम्मेदवारी कायम रहने वा खारेज हुनेबारे निर्णय हुने छ।

यस विषयमा उम्मेदवार थापाले भने सनमुन प्लाजा आफूबाट अर्कैको नाममा गइसकेको दाबी गरेका छन्। उजुरीकर्ता सत्य नारायण पण्डित सोही निर्वाचन क्षेत्रका स्वतन्त्र उम्मेदवारसमेत हुन्।

 

साभार भुकम्प न्युज पेपर

प्रकाशित मिति: २०२६-०१-२२ , समय : १२:२९:२८ , ३ हप्ता अगाडि

error: Content is protected !!