बि.स. : २०८२ माघ २६, सोमबार

मधेश प्रदेशसभाको राजनीतिमा नयाँ मोड : सभामुख मण्डलले राजीनामा दिए

Aarya News Desk 9034  पटक हेरिएको

जनकपुरधाम । मधेश प्रदेशसभाको राजनीतिमा नयाँ मोड आएको छ। निवर्तमान सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा सदस्य पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। नेकपा एमालेले उनलाई धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएपछि उनले प्रदेशसभा सदस्यको जिम्मेवारी त्यागेका हुन्।

प्रदेशसभा सचिवालयका अनुसार मण्डलले नेपालको संविधान २०७२ को धारा १८०(क) तथा प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १८४(१) बमोजिम राजीनामा पेश गरेका हुन्। यससँगै उनको प्रदेशसभा सदस्य पद रिक्त भएको जानकारी प्रदेशसभा कार्यसञ्चालन नियमावलीको नियम १८५(२) अनुसार सार्वजनिक गरिएको छ।

धनुषा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित मण्डल यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा प्रवेश गरेका थिए। संगठन निर्माणमा दह्रो पकड बनाएका उनी माओवादी केन्द्रका प्रभावशाली नेताका रूपमा चिनिँदै आएका छन्।

निवर्तमान सभामुख मण्डलले पार्टीको निर्णय र निर्देशनअनुसार आगामी निर्वाचनमा सक्रिय भूमिकासहित सहभागी हुन आफू राजीनामा दिएर मैदानमा उत्रिएको बताएका छन्।

प्रकाशित मिति: २०२६-०१-१९ , समय : ११:०९:३१ , ३ हप्ता अगाडि

error: Content is protected !!