देवानगञ्ज । आज पौष शुक्ल पूर्णिमा हो। आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिनाको अवधिमा नेपालका विभिन्न शक्तिपीठहरूमा पूजा–आराधना गरिन्छ। ती स्थानहरूमा सतीदेवीका अङ्ग पतन भएपछि देवी–देवताको वास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको मानिन्छ।
आजदेखि वैदिक सनातन धर्मावलम्बीहरूले घर–घरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत तथा कथा वाचन सुरु गर्दै देवी–देवताको पूजा–आराधना आरम्भ गर्छन्।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीका दिन हात–खुट्टाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रतको सुरुआत गरिन्छ। बिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदारखण्ड अन्तर्गत माघ माहात्म्यमा वर्णित कुमार र अगस्त्यबीचको संवाद समेटिएको स्वस्थानी व्रत कथा सुन्ने–सुनाउने परम्परा छ। कुल परम्पराअनुसार कसैले बिहान त कसैले बेलुकी कथावाचन गर्ने गर्दछन्।
एक महिनासम्म यस विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न प्रकारका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र तथा भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य अर्पण गरिन्छ। चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ भाग पति भए पतिलाई, पति नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिइन्छ। मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी प्रसाद बहाउने विधि छ।
सय रोटी बर्तालुले आफैं फलाहार गरी रातभर जाग्राम बस्ने परम्परा छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने–सुनाउने गरिन्छ। यसो गरेमा बर्तालुको मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।
स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ। आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायणपछिको समय ध्यान, योग र साधनाका लागि उपयुक्त हुने भएकाले ‘स्वस्थान’ अर्थात् आफ्नै आत्मासँग सम्पर्कको अभ्यासलाई स्वस्थानी भनिएको विश्वास पनि रहेको छ। यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय उत्तम मानिन्छ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा विराजमान, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिएको स्कन्द पुराणमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए।
यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोडमा परेका जोडीको पुनर्मिलन हुने, रोग–व्याधि निको हुने तथा इच्छाएको पति वा पत्नी प्राप्त हुने विश्वास रहेको कथाहरू प्रचलित छन्।
सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति प्राप्त गर्न विष्णुको निर्देशनअनुसार स्वस्थानी व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ। व्रतको फलस्वरूप बिछोडमा परेका नाग–नागिनीको पुनर्मिलन भएको कथासमेत उल्लेख छ।
त्यस्तै, गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति पाएको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र) का राजा बनेको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ।
यस अवसरमा आजदेखि एक महिनासम्म काठमाडौं उपत्यकाको उत्तर–पूर्वी भेगमा पर्ने करिब १८ किलोमिटर दूरीमा रहेको साँखुस्थित शालीनदीमा माघ स्नानसहित माधवनारायणको मेला सुरु हुँदैछ।
यस वर्षको माधवनारायण मेलाका लागि सबै तयारी पूरा भएको शालीनदी व्यवस्थापन समितिले जनाएको छ। शालीनदीमा स्नान तथा माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन्।
प्रकाशित मिति: २०२६-०१-०३ , समय : १२:००:५८ , १ महिना अगाडि