बि.स. : २०८२ माघ २६, सोमबार

इमान्दारीको मूल्य राजीनामा ? हरिनगर अस्पतालमा प्रशासनिक शक्तिको नाङ्गो दुरुपयोग

AARYA NEWS DESK 25459  पटक हेरिएको

देवानगञ्ज। हरिनगर गाउँपालिकाअन्तर्गत हरिनगर आधारभूत अस्पतालमा कार्यरत सि.अ.हे.व. अधिकृत राजकुमार मेहताले आफ्नो पद तथा दरबन्दीबाट राजीनामा दिएका छन्।

प्रशासनिक अन्याय, मानसिक यातना, शक्तिको दुरुपयोग तथा प्रतिशोधपूर्ण व्यवहार सहन नसकेको जनाउँदै उनले राजीनामा दिएका हुन्। प्रमुख प्रशासकीय अधिकृतलाई बुझाइएको राजीनामा पत्रमा मेहताले आफू इमान्दार राष्ट्रसेवक कर्मचारीका रूपमा भ्रष्टाचार नगर्ने तथा जनस्वास्थ्यको हितमा निरन्तर आवाज उठाउँदै आएको कारण लक्षित भएको उल्लेख गरेका छन्।

राजीनामा पत्रअनुसार योग्यता, क्षमता र तहअनुसार सेवा गर्ने अवसरबाट आफूलाई वञ्चित गरिएको, पटक–पटक पदस्थापन र दरबन्दी हुँदाहुँदै पनि हरिनगर आधारभूत अस्पतालमा काम गर्न नदिइएको दाबी गरिएको छ। साथै, दरबन्दी नभएको स्थानमा वर्षौंसम्म अनिश्चितकालीन काजमा पठाइने तथा मानसिक दबाब सिर्जना गरी कामकाजबाट अलग्याउने प्रयास गरिएको आरोप लगाइएको छ।

मेहताले प्रचलित कानुनअनुसार कुनै पनि कर्मचारीको तलब रोक्का गर्न नपाइने व्यवस्था हुँदाहुँदै पनि आफ्नो तलब रोकिएको र विभागीय कारबाहीको धम्की दिइएको उल्लेख गरेका छन्। राजीनामा पत्रमा प्रमुख प्रशासकीय अधिकृतले अधिकारको दुरुपयोग (excess use of power) गरेको तथा घरबिदा निवेदन प्रतिशोधपूर्ण रूपमा अस्वीकार गरिएको दाबीसमेत गरिएको छ।

सीमित स्रोत–साधनका बीच पनि आफ्नो पदका लागि आवश्यक शैक्षिक योग्यताभन्दा माथिल्लो ज्ञान र सीप प्रयोग गरी जटिल बिरामीको उपचार गर्दै केही बिरामीको ज्यान जोगाउन सफल भएको उल्लेख गर्दै, संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक काम गर्ने, सुरक्षित श्रम गर्ने तथा न्याय पाउने अधिकार कुण्ठित भएपछि आत्मसम्मानको रक्षा गर्न राजीनामा दिन बाध्य भएको उनको भनाइ छ।

मेहताले सरकारी सेवामा रहँदै जनस्वास्थ्य, सुशासन, भ्रष्टाचारविरुद्ध तथा विधिको शासनका पक्षमा निरन्तर आवाज उठाउँदै आएको तर त्यसकै कारण असहज अवस्था सिर्जना भएको जनाउँदै २०८२ कार्तिक २३ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा स्वीकृत गर्न माग गरेका छन्।

यस घटनाले स्थानीय तहमा इमान्दार कर्मचारीमाथि हुने व्यवहार, प्रशासनिक शक्तिको प्रयोगको सीमा तथा स्वास्थ्यकर्मीको कार्यसुरक्षाका विषयमा गम्भीर प्रश्न खडा गरेको छ।

प्रकाशित मिति: २०२६-०१-०२ , समय : २२:३०:२० , १ महिना अगाडि

error: Content is protected !!