काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन्। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने स्पष्ट पारेका हुन्।
बैठकमा बोल्दै शर्माले भने, “हिजो पुस ९ गते झापा गएको थिएँ। आफ्नो क्षेत्रका साथीहरूलाई क्षेत्रीय भेलामै ‘को उम्मेदवार बन्ने हो, दाबी गरेर अगाडि आउनुस्’ भनेर आग्रह गरेको छु।”
उनले एक वर्षअघि नै आफ्नो निर्णय सार्वजनिक गरिसकेको स्मरण गराउँदै भने, “वि.सं. ०८१ पुस २१ गते मेचिनगर–झापाको धुलाबारीस्थित अतिथि सदनमा आयोजित कार्यक्रममा मैले ‘आगामी चुनावमा उम्मेदवार बन्न इच्छुक साथीहरू अहिल्यैदेखि गाउँमा मेहनत गर्नुस्, म ०८४ मा उम्मेदवार बन्न इच्छुक छैन’ भनेर घोषणा गरेको थिएँ। तर पनि झापा–१ का आदरणीय साथीहरूले पुनः सर्वसम्मत सिफारिस गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु।”
शर्माले आफू लगातार तीन पटक उम्मेदवार भइसकेकाले यसपटक उम्मेदवार नबनेर अन्य साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमै गरेर आएको जानकारी गराए। उनले भने, “आफ्नो ‘पावर’ ले भ्याएसम्म उम्मेदवार बन्ने, जिते त ठिकै भयो, हारे पनि क्षेत्र नछाड्ने, एउटा क्षेत्रमा हारे अर्को क्षेत्रमा, एउटा तहमा हारे अर्को तहमा भए पनि उम्मेदवार बन्नैपर्ने—बाँचुन्जेल क्षेत्र ‘कब्जा’ गर्ने सोच र सास रहुन्जेल मन्त्री भइरहनुपर्ने प्रवृत्ति हाम्रो राजनीतिमा छ। यो प्रवृत्ति तोड्न जरुरी छ।”
उनले थपे, “लगातार तीन पटक उम्मेदवार भइसकेकाले यसपटक आफू उम्मेदवार नबनेर अन्य साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रबाट लिएर आएको छु। गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ, यसपटक देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूको साथमा पुग्नेछु। मेरो आग्रह छ—चुनावमा अनुहार बदल्दै जानुपर्छ, बढीभन्दा बढी युवा र नयाँ साथीहरूलाई अवसर दिनुपर्छ।”
महामन्त्री शर्माले फागुन २१ गते निर्वाचन गर्न उपयुक्त वातावरण बन्न नसकेको पनि बताए। उनले भने, “चुनाव हुनका लागि या त सरकारले वातावरण बनाउन सक्नुपर्छ, वा सर्वपक्षीय संवाद र छलफल गरेर वैशाखमा निर्वाचन गर्न सरकारलाई सुझाव र साथ दिनुपर्छ।”
संवैधानिक प्रश्न सम्बोधन गर्न फागुन २१ गते नै सातै प्रदेशका सात स्थानमा निर्वाचन गर्न सकिने उनको भनाइ छ।
प्रकाशित मिति: २०२५-१२-२५ , समय : १९:१८:३७ , २ महिना अगाडि