बि.स. : २०८२ माघ २६, सोमबार

शसस्त्र प्रहरीलाई निर्वाचनमा दोस्रो घेराको जिम्मेवारी

Aarya News Desk 4951  पटक हेरिएको

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई शान्त, निष्पक्ष र भयरहित बनाउन सशस्त्र प्रहरी बल नेपालले विशेष परिचालन नीति लागू गरेको छ। शुक्रबार मुख्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरीले निर्वाचन सुरक्षाका लागि रणनीतिक तयारी पूरा भइसकेको जानकारी दिएको हो।

निर्वाचन सुरक्षाको केन्द्रीय समन्वयका लागि एसएसपी राजेश उप्रेतीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको छ। उप्रेती यसअघि एकीकृत निर्वाचन सुरक्षा योजनाको मस्यौदा तयार गर्ने समितिमा समेत संलग्न थिए। गृह मन्त्रालयले सबै सुरक्षा निकायसँगको सहकार्यमा तयार पारेको निर्वाचन सुरक्षा योजना २०८२ केन्द्रीय सुरक्षा समितिबाट अनुमोदन भई कार्यान्वयनमा गएको छ।

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरीले आफ्नै परिचालन नीति बनाइ लागू गरिसकेको जनाएको छ। निर्वाचन सुरक्षासम्बन्धी छुट्टै तालिम पाठ्यक्रम तयार पारेर कर्मचारीलाई अनुशिक्षण गराइने, सबै निर्वाचन क्षेत्रमा तोकिएको जिम्मेवारीअनुसार परिचालन हुने र सुरक्षाको दोस्रो घेरामा रही अन्य सुरक्षा निकायसँग समन्वय गरेर काम गरिने नीति तय गरिएको छ।

सशस्त्र प्रहरीले निर्वाचन आचारसंहिता कार्यान्वयनमा सहयोगी भूमिका खेल्ने, प्रदेश र जिल्लागत नक्सा तयार गरी संवेदनशील तथा रणनीतिक स्थान पहिचान गरेर सुरक्षा व्यवस्था मिलाउने जनाएको छ। सशस्त्र प्रहरीका सूचना अधिकारी तथा प्रवक्ता डीआईजी मनिष थापाका अनुसार निर्वाचनको करिब एक महिना अघिदेखि नै आवश्यक बन्दोबस्ती सामग्री र सवारीसाधनसहित फौज परिचालन हुनेछ।

क्यूआरटी (छिटो प्रतिक्रिया टोली) लाई निर्वाचनको एक दिन अघिदेखि एक दिन पछिसम्म हातहतियारसहित रणनीतिक स्थानमा तैनाथ गरिनेछ। प्रदेश, उपत्यका, बाहिनी, गण र गुल्म तहसम्मै निर्वाचन सेल गठन गरी अपरेसनल तयारी मजबुत बनाइने सशस्त्र प्रहरीले जनाएको छ।

कार्यक्रममा सशस्त्र प्रहरीले हालसम्म सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व संकलनमा सहयोग तथा विपद् व्यवस्थापनका क्षेत्रमा गरेका उपलब्धिहरू पनि सार्वजनिक गरेको थियो।

यस क्रममा संगठनभित्र अनुशासन उल्लङ्घन गर्नेहरूलाई कडाइ गरिएको जानकारी दिँदै प्रवक्ता थापाले सशस्त्रको ड्रेस लगाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने लगायतका गैरकानुनी गतिविधिमा संलग्न २१२ जना कर्मचारीलाई २०८० यता विभागीय कारबाही गरिएको बताए।

सीमा सुरक्षातर्फ चालु आर्थिक वर्ष २०८१/८२ मा नेपाल–भारत सीमाका ४९८ वटा सीमा स्तम्भ मर्मत, ५५ पटक सीमा समन्वय बैठक, ६ हजार ८९८ संयुक्त गस्ती र ३१ हजार ८१२ एकल गस्ती सम्पन्न भएका छन्। सीमा क्षेत्रमा बोर्डर आउट पोस्ट निर्माण गरी निगरानी थप सुदृढ गरिएको छ।

विपद् व्यवस्थापनमा पनि सशस्त्र प्रहरी सक्रिय देखिएको छ। २०८२ कात्तिक ११ देखि १७ गतेसम्म हिमपातमा फसेका ८३३ जना स्वदेशी र १४७ जना विदेशी नागरिकको सकुशल उद्धार गरिएको छ। सो अवधिमा ९ जना घाइते र ४ जना मृतकको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। अन्य विभिन्न विपद्का ८४४ घटनामा ६९५ जनाको सकुशल उद्धार र १,३६६ घाइतेको उद्धार गरिएको विवरण सार्वजनिक गरिएको छ।

सशस्त्र प्रहरी बलले निर्वाचन सुरक्षादेखि सीमा र विपद् व्यवस्थापनसम्म आफ्नो भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रकाशित मिति: २०२५-१२-१३ , समय : १३:४३:४६ , २ महिना अगाडि

error: Content is protected !!