देवानगञ्ज । धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित कोशी राजमार्गमा बिहीवार मध्यराति भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार धरानदेखि इटहरीतर्फ जाँदै गरेको प्र १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकलले रोडछेउमा रोकी राखिएको प्र १–०२–००१ ख ८७५७ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
घटनापछि प्रहरी चौकी तिनकुनेबाट हवलदार प्रेम कुमार सार्की नेतृत्वको टोली तत्कालै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
दुर्घटनामा इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मन्जिल लिम्बु गम्भीर घाइते भएका थिए। हात र अनुहारमा चोट लागी बोल्न नसक्ने अवस्थामा उनलाई उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना गरिएको थियो।
त्यस्तै मोटरसाइकलमा पछाडि सवार धरान–५ का ३२ वर्षीय अमित राईको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
उपचारका क्रममा शुक्रबार बिहान मन्जिल लिम्बुको मृत्यु भएको अस्पतालले प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबु राईले बताए।
दुर्घटनामा संलग्न ट्रकका चालक, तेह्रथुम फेदाप गाउँपालिका–२ का २७ वर्षीय गणेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लिम्बुको शव प्रतिष्ठानको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२५-११-२८ , समय : ०९:२२:११ , २ महिना अगाडि