बि.स. : २०८२ माघ २६, सोमबार

Gen Z आन्दोलनपछि सुनसरीमा सशस्त्र प्रहरी सक्रिय, लाखौँ मूल्यका सामान बरामद

𝐀𝐀𝐑𝐘𝐀 𝐍𝐄𝐖𝐒 𝐃𝐄𝐒𝐊 12026  पटक हेरिएको

विराटनगर । GenZ आन्दोलनपछि केही समय सुस्ताएको सुनसरीको सुरक्षा निकायले पुनः सक्रियता देखाएको छ। सीमा सुरक्षालाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण मुख्यालय सुनसरी र यसको मातहतका गुल्म तथा बीओपीहरूले चोरी–पैठारी नियन्त्रणमा सक्रियता बढाएका छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण मुख्यालय सुनसरीका अनुसार असोज महिनामा मात्रै विभिन्न गुल्म र बीओपीहरूले गरी रु. २९ लाख ८६ हजार २ सय मूल्य बराबरका सामान बरामद गरी सम्बन्धित नियमनकारी निकायमा बुझाएका छन्। बरामद गरिएका सामानमध्ये मुख्यालयले मात्र रु. १० लाख १५ हजार ३२५ मूल्य बराबरका सामान भन्सार कार्यालयमा बुझाएको छ।

त्यसै अवधिमा बीओपी लौकहीले रु. ७ लाख ४६ हजार, प्रस्तावित गुल्म हरिपुरले रु. १ लाख ७ हजार, बीओपी बसन्तपुरले रु. २ लाख ४४ हजार, बीओपी घुस्कीले रु. १ लाख ७७ हजार, बीओपी अमडुवाले रु. ३ लाख १८ हजार, प्रस्तावित गुल्म कप्तानले रु. १ लाख २७ हजार, र बीओपी सहेवगञ्जले रु. ७४ हजार मूल्य बराबरका सामान बरामद गरी भन्सार कार्यालय सेतुबन्ध, सुनसरीमा बुझाएका छन्।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा चोरी–पैठारी नियन्त्रणका लागि नियमित गस्ती, सूचना संकलन र निगरानी कार्यलाई निरन्तरता दिएको जनाएको छ। मुख्यालयका अनुसार सिमावर्ती क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण गर्न स्थानीय समुदायसँग सहकार्य गर्दै सशस्त्र प्रहरीले आफ्नो उपस्थितिलाई अझ प्रभावकारी बनाएको छ।

प्रकाशित मिति: २०२५-१०-२५ , समय : २१:५७:५३ , ४ महिना अगाडि

error: Content is protected !!