विराटनगर। कुशवाहा राष्ट्रसेवक समाज नेपाल विराटनगरले दहेजमुक्त अभियानलाई थप प्रभावकारी बनाउन दहेज नलिई विवाह गर्ने आदर्श युवाहरुलाई सार्वजनिक रूपमा सम्मान गर्ने निर्णय गरेको छ।
समाजको दोस्रो वार्षिक उत्सवको अवसरमा आयोजित स्वागत, सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा समाजका अध्यक्ष राम खेलौन मेहताले दहेज बिना विवाह गर्ने कुशवाहा दम्पतीलाई आर्थिक सहयोग तथा प्रमाणपत्रसहित सम्मान गरिने जानकारी दिनुभयो।
“हाम्रो उद्देश्य केवल भाषण गर्ने होइन, व्यवहारमै परिवर्तन ल्याउने प्रयास गर्ने हो,” अध्यक्ष मेहताले भन्नुभयो। उहाँका अनुसार समाजले स्थापना कालदेखि नै “युवाको साथ, अग्रजको सम्मान—समृद्ध समाज निर्माण” भन्ने मूल नाराका साथ युवामुखी विभिन्न कार्यक्रमहरू सामुहिक आर्थिक सहयोगमा गर्दै आएको छ। यसमा सम्पुर्ण राष्ट्रसेवक, बौद्धिक युवा,पत्रकारहरुको थप साथसहयोगको अपेक्षा समेत रहेको अध्यक्षले बताउनु भयो।
कार्यक्रममा विगतका वर्षझैँ यस वर्ष पनि नयाँ सेवाप्रवेशी राष्ट्र सेवकहरूलाई स्वागत गरिएको थियो भने राष्ट्रसेवकबाट अवकाश लिएका अग्रजहरूलाई सम्मान गरियो। त्यस्तै यस वर्ष एसईई तथा प्लस टु मा प्रदेशमा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीहरू तथा लागूऔषध र हाम्रो समाज शिर्षकमा आयोजित प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने सहभागीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरिएको आयोजक समितिले जानकारी दिएको छ।
समारोहलाई सम्बोधन गर्ने वक्ताहरूले समाज कुनै राजनीतिक दलसँग आवद्ध नभएको हुँदा यसको निरन्तरता र संरक्षण सम्पूर्ण सदस्य तथा समुदायको साझा जिम्मेवारी हुनेमा जोड दिएका थिए। साथै, युवाहरूलाई सामाजिक विकृति एवं गलत अभ्यासबाट जोगाउँदै राष्ट्रसेवामा उत्साहित गर्ने उद्देश्यले समाज अघि बढ्नुपर्नेमा वक्ताहरू एकमत देखिए।
प्रकाशित मिति: २०२५-०९-२८ , समय : ०९:४३:५८ , ४ महिना अगाडि