देवानगञ्ज। महान चाड बडादशैंको शुभारम्भका दिन मानिने घटस्थापनाको अवसरमा सुनसरी जिल्लाका विभिन्न दुर्गा मन्दिरहरूबाट सोमबार एकैदिन भव्य कलश यात्राहरू सम्पन्न भएका छन्।
देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाही दुर्गा मन्दिर, देवानगञ्ज–७ रा.सि, बर्जु गाउँपालिका–६ चिमडी, हरिनगर गाउँपालिका–५ बसन्तपुरसहित जिल्लाका छ स्थानबाट एकसाथ कलश यात्राहरू निकालिएका थिए। यस भव्य यात्रामा करिब पाँच हजारभन्दा बढी भक्तजनहरूको सहभागिता रहेको थियो।
कलश यात्रामा मौलिक झाँकी, धार्मिक भजन–कीर्तन तथा परम्परागत वाद्यवादनका साथ श्रद्धालुहरूले उपवासको अवस्थामा कलश बोकेर यात्रा गरेका थिए। हरिनगर बजारदेखि करिब पाँच किलोमिटर दुरीमा रहेको चन्दनमोहन (बुढीखोला) पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै कलशमा जल भरी पुनः मन्दिरमा स्थापना गरिएको थियो। बसन्तपुरबाट भने मोरिया खोलामा गई जल भरेर मन्दिरमा ल्याइएको थियो।
मध्यहर्षाही दुर्गा मन्दिरबाट मात्र ३०५ जना, देवानगञ्ज–७ बाट ३५० जना, चिमडी (बर्जु–६) बाट १,००० जना र बसन्तपुर (हरिनगर–५) बाट ४०० जना भक्तजन सहभागी भएको जनाइएको छ।
हिन्दू धर्ममा दुर्गा पूजालाई असत्यमाथि सत्यको विजय, शक्ति, भक्ति र आस्थाको प्रतीकका रूपमा मानिन्छ। घटस्थापनाको दिन घर–घरमा जमरा राख्ने र देवी शक्तिको आह्वान गर्ने परम्परा रहिआएको छ। कलशलाई शुद्धता, समृद्धि र धार्मिक आस्थाको प्रतीकका रूपमा लिने गरिन्छ।
कलश यात्रामार्फत भक्तजनहरूले सामूहिक रूपमा देवीप्रति श्रद्धा अर्पण गर्दै धार्मिक तथा सांस्कृतिक परम्परालाई जोगाइराख्ने परम्परा निरन्तरता दिँदै आएका छन्। ठूलो संख्यामा भक्तहरूको सहभागितासहित सम्पन्न यस वर्षको कलश यात्राले सामाजिक एकता, धार्मिक सद्भाव र सांस्कृतिक बन्धनलाई अझ सबल बनाएको स्थानीयहरूले बताएका छन्।
प्रकाशित मिति: २०२५-०९-२२ , समय : १९:३५:२२ , ५ महिना अगाडि