बि.स. : २०८२ माघ २६, सोमबार

डिजल छैन’ भन्ने एम्बुलेन्स चालक कारबाहीमा, बलराले गुमायो निडर जनप्रतिनिधि

आर्य न्युज/मधेस प्रदेश सम्वाददाता 5193  पटक हेरिएको

सर्लाही। बलरा नगरपालिकाले आफ्नै जनप्रतिनिधिको मृत्युको कारण बनेको भनिएको एम्बुलेन्स लापरबाहीमाथि कडा कदम चालेको छ। दलित महिला सदस्य चन्दा देवी बैठाको सडक दुर्घटनापछि उपचारका क्रममा एम्बुलेन्सले समयमै सेवा नदिएपछि नगरपालिकाले चालकलाई तत्काल निलम्बन गर्दै छानबिन सुरु गरेको हो।

साउन २३ गते बेलुकी वडा नम्बर ११ मा मोटरसाइकल दुर्घटनामा परेकी बैठालाई स्थानीयले नगर अस्पताल पुर्याएका थिए। चिकित्सकहरूले थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउन सुझाए पनि ड्युटीमा रहेका एम्बुलेन्स चालक रामाशंकर महतोले “डिजल छैन, एम्बुलेन्स सुचारु छैन” भन्दै बिरामी बोक्न अस्वीकार गरेका थिए। यो अवस्थामा स्थानीय र परिवारजनले वैकल्पिक साधनको खोजी गरे, तर ढिलाइका कारण उपचारको महत्वपूर्ण समय गुम्यो र बैठाको ज्यान बचाउन सकिएन।

नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले घटनालाई अक्षम्य लापरबाहीको संज्ञा दिँदै मानव जीवनसँग खेलवाड कहिल्यै सहन नसकिने चेतावनी दिए। उनले चालकलाई तत्काल ड्युटीबाट हटाउने मात्र नभई वडाध्यक्ष बिरेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा समिति बनाएर सात दिनभित्र प्रतिवेदन बुझाउन आदेश दिएका छन्।

स्व. बैठालाई “समाज परिवर्तनकी निडर सिपाही” र “सेवाभावको प्रतिमूर्ति” भन्दै श्रद्धाञ्जली अर्पण गर्दै नगर प्रमुखले भने, “उनी जनप्रतिनिधि मात्र थिइनन्, न्याय र समानताको सशक्त आवाज थिइन्। उनको मृत्युले हामी सबैको मन भारी भएको छ।”

नगरपालिकाले पछिल्ला वर्षमा स्वास्थ्य सेवा सुधारका लागि व्यापक काम गरेको दाबी गर्दै उनले प्राथमिक स्वास्थ्य केन्द्रलाई बलरा नगर अस्पतालमा स्तरोन्नति, नयाँ संरचना निर्माण, बर्थिङ सेन्टर पुनः सञ्चालन, ल्याब डिजिटलाइजेशन, आकस्मिक उपचार कक्ष स्थापना, औषधि व्यवस्थापन सुदृढीकरण र चिकित्सक तथा चालकको नियुक्तिसम्मका कदम लिइसकेको बताए। तर अपेक्षित सुधार नदेखिएपछि १० दिनअघि अस्पतालका ६० प्रतिशत कर्मचारी फेरबदल गरिएको र त्यसपछि मात्र सेवा सुधारको संकेत देखिएको उनको भनाइ छ।

कुशवाहाले यस्ता पीडादायी घटना फेरि नदोहोरियोस् भनेर आधारभूत स्वास्थ्य सेवामा कुनै पनि बहाना स्वीकार्य नहुने स्पष्ट पारे। उनका अनुसार, चन्दा देवी बैठाको निधनले नगरपालिकालाई स्वास्थ्य प्रणाली अझ सबल बनाउन बाध्य बनाएको छ, ताकि अर्को पटक “डिजल छैन” भन्ने कारणले कुनै पनि जीवन जोखिममा नपरोस्।

प्रकाशित मिति: २०२५-०८-११ , समय : १६:३५:२६ , ६ महिना अगाडि

error: Content is protected !!