विराटनगर। कोशी प्रदेशमा यस वर्ष कुल ८९.०३ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ। प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार रोपाइको प्रगति गत वर्षको तुलनामा करिब ६ प्रतिशतले कम भएको हो।
गत वर्ष सोही मितिसम्म ९५.०१ प्रतिशत रोपाइ सम्पन्न भएको थियो। यस वर्ष प्रदेशभरका कुल २ लाख ७६ हजार ३८६ हेक्टर धानखेतीयोग्य जमिनमध्ये हालसम्म २ लाख ४६ हजार ६५ हेक्टरमा मात्र रोपाइ सम्पन्न भएको मन्त्रालयको विवरणमा उल्लेख छ।
धान कोशी प्रदेशको मुख्य बाली हो, जसमा जनसंख्याको ठूलो हिस्सा आश्रित छ। तर, यस वर्ष मनसुनको ढिलाइ, असमान वर्षा वितरण, सिँचाइको अभाव र मौसमको अनिश्चितताले गर्दा अधिकांश जिल्लामा धान रोपाइमा ढिलाइ भएको देखिएको छ। किसानहरू समयमा खेत तयारी गर्न नसकेका कारण रोपाइको गति सुस्त भएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ।
प्रदेशका भूगोलअनुसार रोपाइको प्रगतिमा पनि फरक देखिएको छ। झापा, मोरङ र सुनसरीजस्ता समथर तराईका जिल्लाहरूमा औसत ९१.७६ प्रतिशत रोपाइ सम्पन्न भएको छ। यहाँ सिँचाइको पहुँच, मेसिनको प्रयोग र सहज यातायात व्यवस्था भएकाले तुलनात्मक रूपमा रोपाइ छिटो सम्पन्न भएको हो।
तर, मध्य र उच्च पहाडी जिल्लाहरूमा अवस्था फरक छ। मध्य पहाडी जिल्लाहरूमा औसत ८४.२२ प्रतिशत रोपाइ सम्पन्न भएको छ भने उच्च पहाडी क्षेत्रमा मात्र ७१.९४ प्रतिशत खेतमा रोपाइ सम्पन्न भएको छ। उच्च पहाडी जिल्लाहरूमा खेतको स्वरूप, झोलुङ्गा भूमि, सिँचाइको अभाव र कृषियोग्य समय छोटो हुनुजस्ता कारणले रोपाइमा ढिलाइ भएको छ।
जिल्लागत रूपमा हेर्दा ओखलढुङ्गा जिल्लाले सबैभन्दा राम्रो प्रगति गर्दै १०० प्रतिशत रोपाइ सम्पन्न गरेको छ। यसैगरी, सुनसरीमा ९५ प्रतिशत, मोरङमा ९२ प्रतिशत र झापामा ८९.४७ प्रतिशत रोपाइ सम्पन्न भएको छ। पाँचथर, भोजपुर र ताप्लेजुङमा क्रमशः ८२, ८० र ७३.२९ प्रतिशत रोपाइ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। सबैभन्दा कम रोपाइ भएको जिल्ला तेह्रथुम हो, जहाँ हालसम्म ६६ प्रतिशत मात्र रोपाइ सम्पन्न भएको छ।
रोपाइमा देखिएको ढिलाइले आगामी महिनाहरूमा धान उत्पादनमा असर पर्न सक्ने कृषि विज्ञहरूको अनुमान छ। यद्यपि, मौसमले साथ दिएमा अझै केही समयभित्र बाँकी खेतमा रोपाइ सम्पन्न हुने र उत्पादनमा ठूलो गिरावट नहुने अपेक्षा गरिएको छ।
प्रदेश सरकारले बाँकी रहेका क्षेत्रमा यथासक्य चाँडो रोपाइ सम्पन्न गराउनका लागि आवश्यक मल, बीउ र सिँचाइ सुविधाको व्यवस्थापनमा जुटेको जनाएको छ। स्थानीय तहहरूसँग समन्वय गरेर कृषकलाई सहुलियत सहयोग पुर्याउने प्रयास भइरहेको मन्त्रालयको दाबी छ।
कोशी प्रदेशको कृषि अर्थतन्त्रमा धानको हिस्सा अत्यन्तै महत्वपूर्ण मानिन्छ। रोपाइमा देखिएको सुस्तता चिन्ताको विषय त बनेको छ, तर यदि बाँकी समय मौसम अनुकूल रह्यो भने किसानहरूले स्थिति सुधार्न सक्ने विश्वास लिइएको छ।
प्रकाशित मिति: २०२५-०८-०४ , समय : ०७:३२:३८ , ६ महिना अगाडि