विराटनगर। कोशी प्रदेश प्रहरीले भन्सार छली, चोरी तथा तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेको छ। आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशभरबाट नियन्त्रणमा लिइएका अवैध सामग्री तथा संलग्न व्यक्तिबाट २० करोड ४२ लाख रुपैयाँभन्दा बढीको राजस्व संकलन गरिएको छ।
खुला सीमाना र porous border भएकै कारण चोरी तथा तस्करीका घटना बारम्बार हुने कोशी प्रदेशमा प्रहरीले सशक्त अनुगमन, निगरानी र चेकजाँचलाई प्राथमिकता दिएको छ। यसको नतिजा स्वरूप सीमावर्ती जिल्लाहरूमा उल्लेखनीय परिमाणमा भन्सार छली गरिएका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले सबैभन्दा धेरै, ७ करोड ३ लाख रुपैयाँभन्दा बढीको भन्सार छलीका सामग्री बरामद गर्दै राज्यको राजस्वमा योगदान गरेको छ। त्यस्तै मोरङले ५ करोड ५६ लाख, सुनसरीले ४ करोड २३ लाख, ताप्लेजुङले १ करोड ४ लाख, उदयपुरले ९६ लाख र इलामले ७० लाख रुपैयाँभन्दा बढीको अवैध सामान नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको छ।
प्रदेशका अन्य जिल्लाहरूबाट समेत चोरी–तस्करी नियन्त्रणका लागि व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ। सक्रिय निगरानी र विशेष गस्तीमार्फत अवैध कारोबारमा संलग्न ८५ जनालाई पक्राउ गरिएको छ भने तस्करीमा प्रयोग भएका ८९ वटा सवारीसाधन पनि नियन्त्रणमा लिइएका छन्।
प्रहरीका अनुसार, राज्यको राजस्व सुरक्षाका लागि चेकजाँचमा कडाइ गर्दै प्रविधिको समेत प्रयोग थालिएको छ। सीमाक्षेत्र, नाका तथा संवेदनशील बिन्दुहरूमा निगरानी क्यामेरा, सूचना संकलन तथा विश्लेषण प्रणाली र स्थानीय तहसँगको समन्वय मार्फत सुरक्षा रणनीति अझ बलियो बनाइएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार चोरी र तस्करीमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउने, अवैध सामानको ओसार–पसारलाई न्यूनतममा झार्ने र राजस्व चुहावट रोक्ने उद्देश्यले सम्पूर्ण प्रदेशमा निरन्तर, योजनाबद्ध र कडा अनुगमन जारी रहनेछ।
प्रकाशित मिति: २०२५-०७-२७ , समय : २०:२१:३१ , ७ महिना अगाडि