बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

लागू औषध ब्राउन सुगरसहित ४ जना पक्राउ

Aarya News Desk 4196  पटक हेरिएको

विराटनगर । मोरङ, सुनसरी र धनकुटाबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। साउन १ गते विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा निगरानीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

मोरङको सुनवर्षी नगरपालिका–९ स्थित इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको संयुक्त टोलीले भारत, बिहारको सिक्टी ग्राम पंचायतका ३२ वर्षीय सद्दाम हुसेन र सोही स्थानका ३२ वर्षीय शेर मोहमदलाई ६३ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

त्यसैगरी, सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका–९ की २१ वर्षीया प्रतिक्षा रायलाई १ ग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका–१ स्थितबाट नियन्त्रणमा लिएको हो।

यता, धनकुटाको प्रहरी चौकी हिलेले शहीदभूमि गाउँपालिका–५ का २३ वर्षीय सुवास राईलाई २५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

पक्राउ परेकाहरूविरुद्ध लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२५-०७-१८ , समय : १८:५८:१४ , ११ महिना अगाडि

error: Content is protected !!