बि.स. : २०८२ माघ २७, मंगलबार

शक्ति र पैसावालाको संरक्षणमा बलात्कारी, “म दलित भएकैले न्याय पाइनँ” : शरना देवी

अभिमन्यु पटेल/ मधेस प्रदेश सम्वाददाता 8071  पटक हेरिएको

रौतहट। नेपालमा लोकतान्त्रिक संविधान आएको दशक नाघिसक्दा पनि दलित, गरिब, असहाय र महिलामाथि हुने दमन, बलात्कार र उत्पीडन रोकिएको छैन। पछिल्लो उदाहरण हुन्, रौतहटको राजपुर नगरपालिका–३ बलुवा गाउँकी ३० वर्षीया दलित महिला (उपनाम) शरना देवी राम चमार, जो न्यायको खोजीमा दरबारदेखि चौकीसम्म धाइरहेकी छन्, तर बलात्कार आरोपी भने खुलेआम समाजमा घुमिरहेछन्।

शरना देवीले पारिवारिक सम्पत्ति विवादमा गाउँका भलाद्मीहरूसँग छलफलको पहल गरेकी थिइन्। त्यही क्रममा गाउँकै ६० वर्षीय खुर्सैद खाँ पैठानले आफ्नो प्रभाव र पहुँचको दुरुपयोग गर्दै उनलाई निरन्तर यौन प्रस्ताव, धम्की र प्रलोभन दिन थाले।
२०८१ साल जेठ २५ गते, उनले घरनजिकैको बाँसघारीमा हातमुख बाँधेर जबर्जस्ती बलात्कार गरे।

शुरुमा इलाका प्रहरी कार्यालय, राजपुर फरहदवाले चासो नदेखाएको पीडितको आरोप छ। त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय, गौर पुगिन्। तत्कालीन एसपी दिलीप घिमिरेको निर्देशनमा मुद्दा दर्ता त भयो, तर खुर्सैद खाँ एक वर्षसम्म फरार रहँदा पनि प्रहरीले पक्राउ गर्न सकेन।

त्यो अवधिमा आरोपीका मान्छेहरू पीडितको घरमा ६–८ लाख रुपैयाँ लिएर पुगेर मिलापत्रको दबाब दिइरहेका थिए। तर पीडित र उनका परिवारले “पैसा होइन, न्याय चाहिन्छ” भन्ने अडान छोडेनन्।

तर यति हुँदाहुँदै पनि आरोपी प्रहरी कार्यालयमै खुलेआम पुग्ने, राजनीतिक संरक्षणमा रहेको खबर आउन थालेपछि पीडित झन त्रसित भएकी छन्। उनी भन्छिन्:

> “उसको पैसा र पहुँचका अगाडि मेरो इज्जत, पीडा र प्रमाण केही होइन रहेछ। अदालतबाट पनि न्याय नपाए अब विष खाएर म आत्महत्या गर्छु।”

स्रोतका अनुसार खुर्सैद खाँ पहिले नेकपा (माओवादी केन्द्र)मा आबद्ध थिए। तर घटनापछि उनी नेपाली काँग्रेसको शरणमा पुगेका छन्। पीडित पक्षले काँग्रेसका केही स्थानीय नेतामाथि मुद्दालाई कमजोर पार्न राजनीतिक दबाब दिएको गम्भीर आरोप लगाएका छन्।

पीडितका श्रीमान भन्छन्:

> “यदि उनले यो घटनाबाट पनि सजायबाट उन्मुक्ति पाए भने यो देशको कानुन दलित, गरीब र महिलाका लागि होइन, धनी र पहुँचवालाका लागि मात्रै हो भन्ने पुष्टि हुन्छ।”

शरना देवी मात्र होइन, गाउँका अन्य महिलाहरूले पनि खुर्सैदबाट उत्पीडन भएको बताउने गरेका छन्। तर डर र लाजका कारण कोही अगाडि आउन सकेका छैनन्।

यो घटना केवल एउटा महिलाको पीडासँग होइन —
यो राज्य, समाज र राजनीतिक संरचनाले दलित र महिलालाई कसरी दोहोरो शोषणमा पारिरहेको छ भन्ने खतरनाक उदाहरण हो।

प्रकाशित मिति: २०२५-०७-१७ , समय : ०९:०१:०९ , ७ महिना अगाडि

error: Content is protected !!