देवानगञ्ज । बर्जु गाउँपालिका, आर्थिक वर्ष २०७९/८० को एकीकृत वार्षिक विवरण, बजेटको तुलनात्मक विवरण र लेखापरीक्षण रिपोर्ट सार्वजनिक भएको छ। सो रिपोर्टमा गाउँपालिकाको स्रोत र साधनको व्यवस्थापन यथार्थपरक नभएको, आय असुलीमा कमजोरी रहेको र कर्मचारी दरबन्दी अनुसार स्थायी पदपूर्ति नहुँदा विकास निर्माण र सेवा वितरणमा प्रभाव परेको उल्लेख गरिएको छ।
लेखापरीक्षण अनुसार गाउँपालिकाले कुल रु. १ अर्ब १७ करोड ६७ लाख ६४ हजार बराबरको आर्थिक कारोबार लेखापरीण गरेको छ। यसको भुक्तानी विवरणमा रु. २ करोड ५४ लाख ९८ हजार असुली भई रकम बैंक खातामा जम्मा रहेको छ। साथै रु. १५ लाख ४३ हजार बराबरको भुक्तानी फिर्ता भई बाँकी रहेको छ। मानक कागजात पेश गर्नुपर्ने रकम रु. १ करोड ३४ लाख ५० हजार र नियमित भुक्तानी रकम रु. ६० लाख ३५ हजार रहेको छ। पेन्डिङ बाँकी रकम रु. ४४ लाख ७० हजार रहेको छ।
गत वर्षको तुलनामा गाउँपालिकाको बैंक खातामा रहेको असुली रकम रु. २२ करोड ६१ लाख ९ हजारबाट यो आर्थिक वर्षमा रु. २५ करोड १६ लाख ३ हजारमा वृद्धि भएको छ। तर, रकम असुलीमा अनियमितता र समयमै नगर्ने प्रवृत्ति देखिएको छ।
लेखापरीक्षण रिपोर्टमा अनुदानको प्रभावकारी अनुगमन नहुँदा अनियमित वितरण, आन्तरिक नियन्त्रण प्रणाली कमजोर, विकास निर्माणमा अनियमितता, र लेखा परीक्षणका क्रममा तथ्याङ्क र विवरणहरु गलत वा अपूर्ण रहेको औँल्याइएको छ। साथै, कर्मचारी पदपूर्ति नहुँदा काममा ढिलाइ र सेवामा असर परेको उल्लेख गरिएको छ।
गाउँपालिकाले बजेट तथा वित्तीय विवरणहरू तयार गर्दा उच्चस्तरीय नियमन तथा निगरानी गर्नुपर्ने, अनुगमन प्रणाली सुदृढ पार्नुपर्ने र पारदर्शिता कायम गर्नुपर्ने आवश्यकतालाई लेखापरीक्षणले जोड दिएको छ। यसले गाउँपालिकाको विकास र सेवा सुधारमा सकारात्मक प्रभाव पार्न सक्ने विश्वास गरिएको छ।
लेखापरीक्षणको जिम्मेवारीमा रहेर नायब महालेखापरीक बालकृष्ण थापाले भनेका छन्, “लेखापरीक्षण ऐन, नेपाल सरकारको मानक, र सम्बन्धित कानुन अनुसार लेखापरीक्षण कार्य सम्पन्न गरिएको छ। तर वित्तीय विवरणमा भएका गल्ती, अनियमितता, वा जालसाजीलाई यथोचित सम्बोधन नगरे त्यसले आर्थिक शासनमा प्रभाव पार्न सक्छ।”
गाउँपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक नियन्त्रण प्रणाली बलियो पार्न, कर्मचारी दरबन्दी अनुसार पदपूर्ति गर्न, तथा आय स्रोत र खर्चको पारदर्शिता कायम गर्दै समुचित लेखापरीक्षणको सुझाव पालना गर्नुपर्ने देखिन्छ।
लेखा परीक्षण प्रतिवेदन हेर्न यहाँ लेखापरीक्षण प्रतिवेदन बर्जु गाउँपालिका, सुनसरी क्लिक गर्नु होस्।
प्रकाशित मिति: २०२५-०७-१६ , समय : १७:३७:३१ , ७ महिना अगाडि