बि.स. : २०८२ माघ २७, मंगलबार

रंगेली अस्पताल देशकै नमूना अस्पताल घोषित, मूल्यांकनमा ८६ प्रतिशत अंक

आर्य न्युज / कोशी प्रदेश सम्वाददाता 4981  पटक हेरिएको

रंगेली अस्पताल देशकै नमूना अस्पताल घोषित, मूल्यांकनमा ८६ प्रतिशत अंक

मोरङ — मोरङको रंगेली अस्पतालले स्वास्थ्य सेवा मापदण्डअनुसारको पछिल्लो मूल्यांकनमा ८६ प्रतिशत अंक प्राप्त गर्दै देशभरका स्थानीय तह अन्तर्गत सञ्चालित अस्पतालमध्ये नमूना अस्पताल बन्न सफल भएको छ।

अस्पतालले सोमबार आयोजना गरेको विशेष कार्यक्रममा मूल्यांकनको नतिजा सार्वजनिक गरिएको हो। कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले सबै पक्षको सहकार्य र अस्पताल परिवारको लगनशीलताको प्रशंसा गर्दै भने, “अस्पतालले नमूना अस्पतालको मान्यता पाउनु हाम्रो गर्वको कुरा हो। अब ९० अंकभन्दा बढी ल्याएर अझ सुविधा सम्पन्न बनाउन हामी अघि बढ्छौं।”

न्यूनतम सेवा मापदण्ड अनुसार अस्पतालको सुशासन, व्यवस्थापन, क्लिनिकल सेवा, हस्पिटल सेवा लगायत विभिन्न सूचकमा मूल्यांकन गरिएको थियो। अघिल्लो मूल्यांकनमा रंगेली अस्पतालले ८० प्रतिशत अंक पाएको थियो भने यसपटक ६ प्रतिशत अंकले सुधार गर्दै उदाहरणीय फड्को मारेको हो।

कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य सचिव राधिका थपलिया, धनकुटा अस्पतालका डा. पुजन विश्वकर्मा, सुनसरी अस्पतालका डा. वैभव मल्लिकलगायतका सहभागीहरूले रंगेली अस्पतालले स्थानीय तहको मातहतमै रहेर उत्कृष्ट सेवा दिन सफल भएकोमा प्रशंसा व्यक्त गरे।

कार्यक्रममा उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत प्रदीप कुमार साह, वडा अध्यक्ष रामचन्द्र मण्डल, अस्पताल प्रमुख डा. बसन्त साह, व्यवस्थापन समिति अध्यक्ष देवमणि कटुवाल, विभिन्न वडा अध्यक्ष, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

रंगेली अस्पतालले आगामी ६ महिनाको मूल्यांकनमा अझ राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति: २०२५-०७-१४ , समय : २१:५१:४७ , ७ महिना अगाडि

error: Content is protected !!