दाङ। दाङको बबई गाउँपालिका हुँदै बग्ने बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको ज्यान गएको छ।
ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिका–७ का १७ वर्षीय विधान केसी र उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगर रहेका छन्। इलाका प्रहरी कार्यालय खितलपुरका इन्स्पेक्टर खिम बहादुर खड्काका अनुसार सोमबार दिउँसो करिब २ बजेतिर उनीहरू घुमफिरका लागि पुरन्धारा छहरा पुगेका थिए।
छह जनाको समूहमा पुगेका ती युवामध्ये विधान केसी नुहाउन नदीमा पसेका थिए। पानीको बहाव तेज भएका कारण उनी बग्न थालेपछि साथीलाई बचाउन कुशल बुढामगर पनि नदीमा हाम फालेका थिए। तर, दुवै जना डुबेर बेपत्ता भएका थिए। खोजीपछि उनीहरूको शव घटनास्थलदेखि केही मिटर तल फेला परेको प्रहरीले जनाएको छ।
दुवै जनाको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२५-०७-१४ , समय : २०:४०:५३ , ७ महिना अगाडि