
कञ्चनपुर। आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पुर्याइएका ५८ नेपाली युवाको उद्धार गरी आज नेपाल ल्याइएको छ। भारतको उत्तराखण्ड राज्यअन्तर्गत उधमसिंहनगर जिल्लाको रुद्रपुर र कासिपुरबाट ती नेपाली युवाहरूको सकुशल उद्धार गरिएको हो।
रुद्रपुरमा ३२ जना र कासिपुरमा २६ जना गरी कुल ५८ जना नेपाली युवालाई रोजगारी दिने भन्दै लगेर बन्धक बनाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनीहरूलाई नेपाली नागरिक संस्था ‘किन नेपाल/इण्डिया’, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त प्रयासमा उद्धार गरी कञ्चनपुरको गड्डाचौकी नाकामार्फत नेपाल ल्याइएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भारत लगिएका ती युवालाई स्थानीय घरघरमा राखी नियन्त्रणमा राखिएको सूचना पाएपछि उद्धार प्रक्रिया अघि बढाइएको थियो। उद्धारपछि ती युवालाई बसमार्फत सीमा नाका ल्याइएको र सुदूरपश्चिमका युवालाई आजै घर पठाउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। अन्य जिल्लाका युवाहरूका लागि अस्थायी आवासको व्यवस्था गरिएको छ।
उद्धार गरिएका युवामध्ये सुदूरपश्चिम प्रदेशका कैलाली र डोटीका ११ जना, चितवनका १०, कैलालीका थप ९, सुनसरीका ५, पाँचथर, तेह्रथुम र उदयपुरका ४/४ जना, दाङ, स्याङ्जा र बाँकेका ३/३ जना, डोटी, ताप्लेजुङ र धादिङका २/२ जना तथा सर्लाही, कास्की, रुकुम, बागलुङ, इलाम र रुपन्देहीका १/१ जना रहेका छन्।
प्रहरीले यस्तो किसिमको मानव तस्करको जालोविरुद्ध सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको छ।
प्रकाशित मिति: २०२५-०६-२६ , समय : १५:०६:४० , १ हप्ता अगाडि