बि.स. : २०८२ माघ २६, सोमबार

कोशी प्रदेशमा ट्राफिक सप्ताह २०८२ सुरु — “सुरक्षित यात्रा हाम्रो चाहना”

आर्य न्युज / कोशी प्रदेश सम्वाददाता 4268  पटक हेरिएको

विराटनगर। प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश विराटनगर र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी, सुनसरीको संयुक्त आयोजनामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशस्तरीय ट्राफिक सप्ताह २०८२ भव्यताका साथ सुरु भएको छ।

असार ६ गते विराटनगरको महेन्द्र चोकबाट प्रभातफेरीसहितको र्‍याली सुरु भई सिटी हलमा पुगेर एक औपचारिक कार्यक्रममार्फत ट्राफिक सप्ताहको उद्घाटन गरिएको हो।

कार्यक्रमको अध्यक्षता निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्की सहभागी हुनुहुन्थ्यो। मुख्यमन्त्री कार्कीले पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा ट्राफिक सप्ताहको उद्घाटन गर्नुभयो।

त्यस अवसरमा वहाँले ट्राफिक सचेतनामूलक श्रव्यदृश्य सामग्री “सुरक्षित यात्रा” को सार्वजनिक अनावरण गर्नुका साथै सार्वजनिक यातायातका साधनमा यात्रुहरूको गुनासो तथा सुझाव संकलन गर्न ‘क्युआर कोड’ स्टिकर टाँस गर्नुभयो।

कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सवारी दुर्घटनामा कमी ल्याउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, विद्यालय तहबाटै ट्राफिक सचेतना कार्यक्रम सुरु गर्न सकेमा दीर्घकालीन समाधान सम्भव हुने धारणा व्यक्त गर्नुभयो। साथै ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रशंसा पत्र प्रदान गरी सम्मानसमेत गर्नुभयो।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले ट्राफिक व्यवस्थापनमा प्रदेश सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउन तत्पर रहेको र ट्राफिक सप्ताहले उल्लेखनीय भूमिका निर्वाह गर्ने बताउनुभयो।

त्यस्तै, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले शुभकामना मन्तव्य राख्नुभयो भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठले स्वागत मन्तव्यसहित ट्राफिक सप्ताहको औचित्यबारे प्रकाश पार्नुभयो।

कार्यक्रमका अध्यक्ष वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्दै उपलब्ध स्रोतसाधनको उच्चतम उपयोग गर्दै सरोकारवाला निकायहरूसँग सहकार्य गरेर ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सामाजिक विकास मन्त्री पाँचकर्ण राई, खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्की, आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर, मन्त्रालयका सचिव राम प्रसाद आचार्य, पूर्वी पृतना हे.क्वा. सुनसरीका सहायक रथी गौरव कुमार रेग्मी, सशस्त्र प्रहरी बल बराहबाहिनी पकलीका नायव महानिरीक्षक कुमार न्यौपाने, राष्ट्रिय अनुसन्धान कार्यालय धरानका निर्देशक इन्द्रसिंह लामा लगायत विभिन्न सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पूर्व प्रहरी अधिकारी, स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, सञ्चारकर्मी, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि तथा विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरणका लागि आजकै मितिबाट कोशी प्रदेशका सबै १४ जिल्लामा एकसाथ ट्राफिक सप्ताह सुरु गरिएको छ, जसअन्तर्गत एक सातासम्म विविध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

प्रकाशित मिति: २०२५-०६-२० , समय : १३:४५:४७ , ८ महिना अगाडि

error: Content is protected !!