बि.स. : २०८२ माघ २६, सोमबार

देशभर आंशिकदेखि सामान्य बदली, कोशी, बागमती र गण्डकीमा भारी वर्षा हुने

आर्य न्युज सम्वाददाता 5905  पटक हेरिएको

विराटनगर । मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही, विभिन्न स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले जारी गरेको विवरणअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने देखिएको छ। ती क्षेत्रहरूमा सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक जोखिमहरूका लागि सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको छ। बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा समेत हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

मौसमविद्‍हरूका अनुसार हाल मनसुन प्रणाली सक्रिय रहँदा मुलुकभर वर्षाको प्रभाव देखिएको हो। विशेषगरी पूर्वी र मध्य भागमा वर्षा प्रणाली अझै प्रभावशाली रहने भएकाले सावधानी अपनाउनुपर्ने जनाइएको छ।

महाशाखाले वर्षाको क्रम केही दिनसम्म जारी रहने अनुमान गरेको छ। लगातार वर्षाले पहाडी क्षेत्रका सडक अवरुद्ध, नदीहरूको बहाव बढ्नेजस्ता घटनाहरू निम्त्याउन सक्ने भएकाले यात्रुहरू र स्थानियवासीलाई सतर्क रहन समेत आग्रह गरिएको छ।

 

प्रकाशित मिति: २०२५-०६-१६ , समय : २२:४६:५३ , ८ महिना अगाडि

error: Content is protected !!