बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

कोशी प्रदेश : ऐतिहासिक भनिएको बजेटमै घातक त्रुटी, एक लाख रुपैयाँ गायब

आर्य न्युज / कोशी प्रदेश सम्वाददाता 3271  पटक हेरिएको

देवानगञ्ज । कोशी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा गम्भीर त्रुटी देखिएको छ । मन्त्री मगरले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको कुल बजेट र त्यसको स्रोत तथा खर्च हिसाबमा कम्तीमा एक लाख रुपैयाँको भिन्नता भेटिएको छ । स्रोत–खर्चको विवरणमा रहेका त्रुटीले बजेटको विश्वसनीयतामा प्रश्न उठाएका छन् ।

मन्त्री मगरले प्रस्तुत गरेको खर्च विवरणमा चालु खर्च १८ अर्ब ६७ करोड ३३ लाख, पूँजीगत खर्च १७ अर्ब १० करोड ६५ लाख र वित्तीय व्यवस्थापन १० करोड गरी कुल ३५ अर्ब ८७ करोड ९८ लाख रुपैयाँ मात्र देखिन्छ । तर कुल बजेटमा ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ उल्लेख गरिएको छ । यसबाट एक लाख रुपैयाँ खर्च गायब देखिन्छ । यस्तै, स्रोततर्फ पनि त्रुटीपूर्ण तथ्यांक प्रस्तुत भएको पाइन्छ ।

बजेटको स्रोत अनुसार प्रदेश सरकारको आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख, संघबाट प्राप्त वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख, समपुरक अनुदानबाट ३९ करोड १७ लाख, विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरी जम्मा ३२ अर्ब ७४ करोड ९९ लाख तथा रोयल्टीबाट ३५ करोड ६ लाख र नगद मौज्दातबाट ३ अर्ब १३ करोड रुपैयाँ व्यहोर्ने उल्लेख छ । यदी यी सबैलाई जोड्ने हो भने ३६ अर्ब २३ करोड ५ लाख रुपैयाँ पुग्ने भए पनि कुल बजेटमा ३५ अर्ब ८७ करोड ९९ लाख मात्र देखाइएको छ । यसले ३५ करोडभन्दा बढी रकमको अनावश्यक भिन्नता देखाउँछ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा विज्ञ कर्मचारी रहँदा पनि यस्तो त्रुटीपूर्ण बजेट निर्माण हुनु चिन्ताजनक विषय हो । मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरू आफ्नो कार्यक्षेत्रमा निरन्तर हिसाब मिलानमा नै व्यस्त रहँदा बजेटजस्ता महत्वपूर्ण दस्तावेजमा यस्ता त्रुटी हुनु सुहाउँदैन । प्रदेशका जनता र बजेटका समग्र प्रयोगकर्ताहरूका लागि यो ऐतिहासिक दस्तावेज हो, तर यसमा देखिएका त्रुटीहरूले आगामी बजेट परिचालनमा थप समस्या आउने आशंका बढाएको छ ।

विशेषज्ञहरूले समेत यस्तो त्रुटीलाई गम्भीर रूपमा लिइरहेका छन् र सोधिरहेका छन्– यदि बजेट नै तयार गर्दा यसरी त्रुटी हुन्छ भने यसको कार्यान्वयन कसरी पारदर्शी र शुद्धतापूर्वक हुनेछ? यसले प्रदेश सरकारको बजेट व्यवस्थापनको क्षमता र विश्वसनीयतामा नै प्रश्न उठाएको छ । बजेट तयार गर्ने जिम्मेवारीमा रहेका मन्त्री र मन्त्रालयले यसप्रकारका त्रुटीबाट पाठ सिकेर सुधार गर्नुपर्ने देखिन्छ ।

प्रदेशवासीले आफ्नो विकासका लागि तयार पारिने बजेटमा यस्ता आधारभूत त्रुटीहरू नआउनुपर्ने स्पष्ट छ । बजेट एक ऐतिहासिक दस्तावेज हो जसमा पारदर्शिता र शुद्धता हुनैपर्छ । बजेट निर्माणमा देखिएका यी त्रुटीहरूले आगामी आर्थिक वर्षको योजना र विकास कार्यमा अवरोध पुग्न सक्ने भएकाले यसमा गम्भीर ध्यान दिनु अनिवार्य छ ।

प्रकाशित मिति: २०२५-०६-१५ , समय : २२:०३:०४ , ३ हप्ता अगाडि

error: Content is protected !!