बि.स. : २०८२ चैत्र २५, बिहिबार

विश्व रक्तदाता दिवसमा विराटनगरका तीन जना सम्मानित

आर्य न्युज / कोशी प्रदेश सम्वाददाता 3682  पटक हेरिएको

विराटनगर। विश्व रक्तदाता दिवसको अवसरमा विराटनगरमा रक्तदान क्षेत्रमा योगदान पुर्‍याएका तीन व्यक्तिहरूलाई सम्मान गरिएको छ।

शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाज, मोरङको आयोजनामा हाटखोलास्थित आरोहण गुरुकुलमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा चर्मरोग विशेषज्ञ डा. केएन ठाकुर, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र अष्टचिरञ्जीवी मन्दिरका अध्यक्ष विनायक पन्तलाई सम्मान गरिएको हो।

डा. ठाकुरले अहिलेसम्म १०९ पटक रगत दिएका छन्। ७० वर्षीय ठाकुरले ६० वर्षको उमेरसम्म नियमित रक्तदान गरेका थिए। उनी कोशी प्रदेशमा सबैभन्दा धेरै रक्तदान गर्ने व्यक्तिमा पर्छन्।

भैरव क्षेत्रीले स्वयं रक्तदान गर्नुका साथै नाटक, टेलिफिल्म र चलचित्रमार्फत् अरूलाई पनि रक्तदान गर्न प्रेरणा दिने काम गरेका छन्। यस योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो।

बी नेगेटिभ जस्तो दुर्लभ रगत समूह भएका विनायक पन्त भने आवश्यकता परे जुनसुकै बेला रगत दिन तयार हुने व्यक्तिका रूपमा परिचित छन्। समाजसेवामा सक्रिय रहेका उनलाई पनि विशेष योगदानका लागि सम्मान गरिएको हो।

उनीहरूलाई १०३ पटक रक्तदान गरिसकेका हरिमोहन श्रेष्ठले रुद्राक्षको माला लगाएर सम्मान गरे।
कार्यक्रममा नियमित रक्तदानले जीवन बचाउन सहयोग पुग्ने भएकाले सबैले सक्दो रक्तदान गर्नुपर्ने सन्देश दिइएको थियो।

प्रकाशित मिति: २०२५-०६-१४ , समय : २२:३९:०१ , १० महिना अगाडि

error: Content is protected !!