
काठमाडौँ। भारत सरकारले नेपाललाई स्वास्थ्य सेवा सुदृढीकरणका लागि ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ। काठमाडौंस्थित भारतीय राजदूतावासले शनिबार आयोजित समारोहमा ती एम्बुलेन्स हस्तान्तरण गरिएको जानकारी दिएको हो।
राजदूतावासका अनुसार काठमाडौंमा २२, वीरगन्जमा ७, पोखरामा ७ र धरानमा ४ वटा एम्बुलेन्स सम्बन्धित स्वास्थ्य संस्थाहरुलाई प्रदान गरिएको हो। काठमाडौंमा आयोजित मुख्य समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले सवारी साधनको चाबी लाभार्थी संस्थाहरुलाई हस्तान्तरण गरेका थिए।
उक्त कार्यक्रममा बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरू, लाभार्थी संस्थाका प्रतिनिधिहरू, राजनीतिक व्यक्तित्व र समाजसेवीहरूको उपस्थिति रहेको थियो।
श्रीवास्तवले नेपाल सरकारको स्वास्थ्य पूर्वाधार सुदृढीकरण प्रयासमा साथ दिन एम्बुलेन्स प्रदान गरिएको जानकारी दिँदै भारत र नेपालको सम्बन्ध अझ सुदृढ हुँदै गएको उल्लेख गरे। त्यस्तै, लाभार्थी संस्थाका प्रतिनिधिहरुले भारत सरकारप्रति आभार व्यक्त गर्दै एम्बुलेन्सहरूले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तारमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
भारतीय राजदूतावासका अनुसार, सन् १९९४ यता भारतले नेपाललाई १,०४९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ। यस्तै सन् २०२२ मा निर्वाचन आयोग र कानुन कार्यान्वयन निकायलाई २०० सवारी साधन प्रदान गरिएको थियो। साथै, ‘सगरमाथा संवाद’को पहिलो संस्करण सफल बनाउन भारतले परराष्ट्र मन्त्रालयलाई १५ वटा विद्युतीय सवारी साधन पनि प्रदान गरेको थियो।
भारतको यो निरन्तर सहयोगले नेपाल-भारत सम्बन्धलाई जनस्तरमै मजबुत बनाउँदै लाने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २०२५-०६-१४ , समय : २०:०७:०६ , ३ हप्ता अगाडि