
काठमाडौं। देशभर पछिल्लो समय मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु, तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव सक्रिय रहेको छ।
यस प्रभावका कारण गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने अन्य अधिकांश भू-भागमा मौसम मुख्यतः सफा रहेको विभागले जनाएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी प्राप्त भएको छ।
दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सफादेखि आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ। यस्तै, देशका पहाडी भू-भागका थोरै स्थानहरू र अन्य केही क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ।
रातिको समयमा पनि बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रका केही स्थान र अन्य क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने विभागको पूर्वानुमान छ।
विभागले यस्तो मौसमले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आम नागरिकमा आग्रह गरेको छ। मौसमको प्रभावबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सबै पक्ष सचेत रहनु जरुरी रहेको समेत विभागको भनाइ छ।
प्रकाशित मिति: २०२५-०५-२८ , समय : ०७:३७:५१ , १ महिना अगाडि