
विराटनगर। नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा आज मंगलबार बिहान विराटनगरमा प्रभातफेरीसहित विशेष कार्यक्रम सम्पन्न भएको छ। पत्रकारका हकहित, अधिकार र पेशागत सुरक्षाका सवालमा आवाज उठाउँदै गरिएको प्रभातफेरीले विराटनगरको सडकमा पत्रकारहरूको एकता र प्रतिबद्धता झल्काएको छ।
प्रेस युनियन मोरङको आयोजनामा गरिएको प्रभातफेरी नेपाल पत्रकार महासंघ मोरङ शाखाको कार्यालयबाट सुरु भई महेन्द्र चोक, शनिमन्दिर, मेनरोड, ट्राफिक चोक हुँदै पुनः महासंघ कार्यालयमै फर्केर सम्पन्न भएको हो। प्रभातफेरीमा विभिन्न सञ्चार संस्था, पत्रकार संगठन तथा स्वतन्त्र पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेलले पत्रकारहरूका साझा मुद्दामा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै स्थापना दिवसको अवसरमा सहभागी सबैलाई धन्यवाद दिए। “प्रेस युनियनले सुरुदेखि नै श्रमजीवी पत्रकारका सवालमा स्पष्ट धारणा बनाउँदै आएको छ। अबको यात्रामा पनि संगठन श्रमजीवी पत्रकारको अधिकार र हितको रक्षाका लागि निरन्तर सक्रिय रहनेछ,” पौडेलले भने।
उनले पत्रकारिता क्षेत्रमा देखिएको अस्थिरता, असुरक्षा र श्रम शोषणका अवस्थालाई अन्त्य गर्न प्रेस युनियनले नीतिगत तहदेखि व्यवहारिक तहसम्म संघर्ष जारी राख्ने बताए।
कार्यक्रममा सहभागिता जनाएका पत्रकारहरूले सञ्चार क्षेत्रका चुनौतीपूर्ण पक्षहरूबारे छलफल गर्दै श्रमजीवी पत्रकारहरूको संरक्षण र व्यावसायिक सुरक्षाका लागि एकीकृत आवाजको आवश्यकता औंल्याएका थिए।
प्रेस युनियनको स्थापना दिवसलाई अवसरका रूपमा प्रयोग गर्दै मोरङमा गरिएको प्रभातफेरीले सन्देश दिएको छ—पत्रकारिता केवल सूचना सम्प्रेषण मात्र होइन, जनताको आवाज उठाउने संवेदनशील जिम्मेवारी पनि हो। यही जिम्मेवारीलाई जोगाउन पत्रकारहरू सधैं सङ्गठित र सजग रहनुपर्ने आवश्यकता यथावत् रहेको सहभागीहरूको धारणा थियो।
कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।
प्रकाशित मिति: २०२५-०५-२७ , समय : १२:२७:०८ , १ महिना अगाडि