बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

शिक्षककै हातबाट भरोसा चकनाचुर: बाल यौन दुर्व्यवहारमा दोषी ठहर, एक वर्ष कैद र क्षतिपूर्ति

आर्य न्युज / कोशी प्रदेश सम्वाददाता 1868  पटक हेरिएको

साङ्केतिक फोटो

विराटनगर । शिक्षक जसको काधमा राष्ट्र निर्माणको जिम्मेवारी हुन्छ। तर जब यही भूमिकामा रहेकाले आफ्नो कर्तव्य बिर्सन्छन्, तब सम्पूर्ण शिक्षाप्रतिको भरोसामाथि प्रश्न उठ्छ।

यस्तै एक घटना मोरङको विराटनगरमा सार्वजनिक भएको छ। जनता नमूना माध्यमिक विद्यालयका शिक्षक ओजेश भगतले विद्यालयमै अध्ययनरत एक नाबालिकासँग गरेको यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर पाएका छन्।

मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले भगतलाई एक वर्ष कैद सजाय र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको हो।

५८ वर्षीय भगत दुई वर्षपछि अनिवार्य अवकाश पाउँदै थिए। विद्यालयमा प्राथमिक तहका विद्यार्थीलाई पढाउँदै आएका उनीमाथि आएको यौन दुर्व्यवहारको उजुरीले स्थानीय समाजमा तरंग ल्याएको थियो।

गत फागुन महिनामा परेकै उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गर्‍यो। चैत १५ मा अदालतमा मुद्दा दर्ता भयो। चैत १७ मा धरौटीमा रिहा भएका उनी वैशाख ३० मा दोषी ठहर भए। अन्ततः बुधबार अदालतले सजाय सुनायो।

अदालतले दिएको निर्णय कानूनी प्रक्रिया अनुसार भए पनि यस घटनाले विद्यालय भित्रको सुरक्षित वातावरणमाथि प्रश्न उठाएको छ।

विद्यालय प्रशासनले घटनाको थप अध्ययन गर्दै शिक्षक सेवा आयोग र जिल्ला शिक्षा कार्यालयसँग समन्वय गर्ने बताएको छ। दोषी ठहर भएका भगत भने अब उच्च अदालतमा पुनरावेदन गर्ने तयारीमा छन्।

शिक्षकबाटै विद्यार्थी पीडित हुने यस्तो घटना अपवाद होस् भन्ने अपेक्षा गरिँदैछ।

 

प्रकाशित मिति: २०२५-०५-२३ , समय : १४:०६:४८ , १ महिना अगाडि

error: Content is protected !!