बि.स. : २०८२ माघ २७, मंगलबार

अनलाइन जुवा सञ्चालनमा आमा–छोरी पक्राउ : सामाजिक मूल्य र कानुनी शासनप्रति खुला चुनौती

आर्य न्युज / कोशी प्रदेश सम्वाददाता 3940  पटक हेरिएको

झापा। समाजमा मौलाउँदै गएको अनलाइन सट्टाबाजी (अनलाइन जुवा) अब पारिवारिक रूपमै सञ्चालन हुने तहमा पुगेको संकेत दिने एक घटना झापामा सार्वजनिक भएको छ। कनकाई नगरपालिका–८ लक्ष्मीपुरकी ४१ वर्षीया इन्दिरा प्रसाईँ र उनकी २१ वर्षीया छोरी सिम्रन प्रसाईँ अनलाइन जुवा सञ्चालनको आरोपमा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले बुधबार बिहान २:३० बजे विशेष सूचनाको आधारमा छापा मार्दा आमा–छोरीलाई अनलाइन जुवा खेलाइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट पाँच थान मोबाइल, दुई थान ट्याब र एक थान ल्यापटप समेत बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरूले कर्मचारीहरू राखी व्यवस्थित रूपमा अनलाइन जुवा सञ्चालन गर्दै आएको खुलेको छ।

सामाजिक र कानुनी दृष्टिकोणले यो घटना गम्भीर चिन्ताको विषय हो। एकातिर, परिवारजस्तो पवित्र संस्थाले नै अवैध गतिविधिलाई व्यवसायजस्तो ढंगले सञ्चालन गर्नु कानुनी शासनप्रति ठाडो अपमान हो। अर्कातिर, यसले युवा पुस्तालाई अपराधको भूमरीमा तान्ने सम्भावनालाई थप बल दिएको छ।

यो घटना केवल इन्दिरा र सिम्रन प्रसाईँको गिरफ्तारीमा सीमित छैन; यो समग्र समाज र सुरक्षातन्त्रका लागि चेतावनी हो। अनलाइन माध्यमबाट सञ्चालित अवैध गतिविधिहरूको पहुँच गाउँ–शहरका कुनाकन्दरसम्म पुगेको स्पष्ट देखिन्छ।

सामाजिक अनुशासन, अभिभावकीय भूमिका र कानुनी चेतनाको खडेरीले यस्ता गतिविधि मौलाउन सजिलो बनाएको हो। प्रहरीले सुरु गरेको अनुसन्धानले थप सञ्जालको पत्ता लगाउने अपेक्षा गर्न सकिन्छ। तर, दीर्घकालीन समाधानका लागि समुदायमै चेतना, प्रविधिमा आधारित निगरानी र कानुनी कारबाहीलाई सशक्त बनाउनुपर्ने आवश्यकता देखिन्छ।

समाजले यस्ता घटना सन्देशका रूपमा लिनु जरुरी छ—सिर्जनात्मक प्रविधि प्रयोगको नाममा अपराधको आश्रय लिनेहरूलाई कानुनी कठघरामा उभ्याउनु र सामाजिक सचेतनाले यस्ता गतिविधिलाई जरोबाट उखेल्नु अब ढिला गर्नु हुँदैन।

 

प्रकाशित मिति: २०२५-०५-२२ , समय : २१:४२:३४ , ९ महिना अगाडि

error: Content is protected !!