बि.स. : २०८२ माघ २६, सोमबार

आजको मौसम : वातावरणीय अस्थिरता कायमै, मौसम विभागद्वारा विशेष सतर्कता अपनाउन अनुरोध

Aarya News Desk 4262  पटक हेरिएको

देवानगञ्ज । हाल देशभर पश्चिमी वायु र स्थानीय वायूसँगै बंगालको खाडी तथा अरब सागरबाट आएका जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भू–भागहरूमा आंशिक बदली रहने सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानहरूमा तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको उल्लेख गरिएको छ।

आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतः सफा देखिने अपेक्षा गरिएको छ। यस अवधिमा पनि सोही क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूले यस्ता अवस्थाका कारण सतर्क रहन र आवश्यक सुरक्षात्मक उपाय अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।

प्रकाशित मिति: २०२५-०५-१९ , समय : ०९:१६:४६ , ९ महिना अगाडि

error: Content is protected !!