पनौती। विश्वकै एकमात्र कालाग्निरुद्र पीठ मानिने लड्केश्वर धाममा आयोजित पहिलो राष्ट्रिय कोटिहोम ऐतिहासिक उपस्थितिको कारणले विशेष चर्चामा रहेको छ। यस धार्मिक समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र राष्ट्रपति रामचन्द्र पौडेललाई एउटै पूजास्थलमा देख्न पाइयो, जुन दृश्य नेपाली इतिहासमै दुर्लभ मानिएको छ।
पूर्वराजा शाह दम्पतीले श्रद्धापूर्वक विधिपूर्वक पूजा गरेका थिए भने राष्ट्रपति पौडेलले सार्वजनिक मन्तव्य दिँदै “यस प्रकारका धार्मिक आयोजाले राष्ट्रको सांस्कृतिक एकता बलियो बनाउँछ,” भनी विश्वास व्यक्त गरे।
धार्मिक, सांस्कृतिक र राष्ट्रिय भावनाको संगम बनेको यस समारोहले लड्केश्वरधामलाई ‘राष्ट्रको साझा धर्मपीठ’ को रूपमा चिनाउने काम गरेको छ। उपस्थित राष्ट्रप्रमुखहरूको सहभागिताले यो स्थल केवल पवित्र धार्मिक केन्द्र मात्र नभई राष्ट्रिय एकता र आध्यात्मिक सद्भावको प्रतीकको रूपमा स्थापित हुँदै गएको छ।
कार्यक्रममा धार्मिक संस्कारप्रतिको समर्पण, पारंपरिक विधिको सम्मान र सबै धर्मावलम्बीको सहअस्तित्वको भावनालाई मूर्तरूप दिन प्रयास गरिएको थियो। आयोजकहरूले लड्केश्वरधामलाई भविष्यमा राष्ट्रिय धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना रहेको बताएका छन्।
प्रकाशित मिति: २०२५-०५-१७ , समय : १४:५२:०८ , ११ महिना अगाडि