बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

विवाह समारोहमा करेन्ट लाग्दा दुई वृद्धाको मृत्यु, एक महिला घाइते

कोशी प्रदेश सम्वाददाता / आर्य न्युज 4792  पटक हेरिएको

विराटनगर। मोरङको रतुवामाई नगरपालिका–३ मिर्चाडाँगीस्थित एक विवाह समारोहमा मंगलबार राति करेन्ट लागेर दुई वृद्धाको ज्यान गएको छ भने एक महिला घाइते भएकी छन्।

प्रहरीका अनुसार स्थानीय मंगललाल सिंहका छोरा निरजकुमार सिंहको विवाहमा नाचगान चलिरहेको बेला करिब राति ८ बजे आएको हावाहुरीले करिब २५–३० फिट अग्लो बाँस ढलेर नजिकैको ११ हजार भोल्ट क्षमताको हाइटेन्सन लाइनमा ठोक्किँदा करेन्ट फैलिएको थियो।

घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शीका अनुसार विवाह घरको छानामाथि ठड्याइएको हरियो बाँसमा माइकको तार बाँधिएको थियो। त्यो बाँस हावाहुरीले ढलेर विद्युत् लाइनमा छोएपछि माइकको तार हुँदै करेन्ट फैलिएको हो। त्यसै क्रममा छानामुनि बसेर नाचगान हेर्दै गरेका केही महिलाहरूलाई करेन्ट लागेको थियो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार करेन्ट लागेर ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको घटनास्थलमै गम्भीर अवस्थामा पुगेपछि उपचारका लागि रंगेली अस्पताल लैजाने क्रममा ज्यान गएको हो। अस्पतालले दुवै जनालाई मृत घोषित गरेको जोशीले जानकारी दिए।

करेन्ट लागेर घाइते भएकी ३० वर्षीया राधाकुमारी सिंहको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनको उपचार झुर्कियास्थित नगर अस्पतालमा गरिएको थियो र उपचारपछि उनलाई घर फर्काइएको छ।

घटनापछि स्थानीयहरू स्तब्ध छन्। विवाहको रमाइलो वातावरण केही क्षणमै मातममा परिणत भएको थियो।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार लापरवाहीपूर्वक गरिएको माइक जडान र सुरक्षा मापदण्डको बेवास्ताले दुर्घटना निम्तिएको हुनसक्ने देखिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको डीएसपी जोशीले बताएका छन्।

प्रकाशित मिति: २०२५-०५-१४ , समय : ०९:५४:२९ , २ महिना अगाडि

error: Content is protected !!