
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लामा सोमबार रातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित बनाएको छ। वर्षासँगै आएको बाढीका कारण बी.पी. राजमार्गको रोशी गाउँपालिका–१२ माप्तीस्थित डाइभर्सन बगाउँदा राजमार्ग आठ घण्टासम्म पूर्ण रूपमा अवरुद्ध भएको छ।
डाइभर्सन बगाएपछि सडकमा आवागमन ठप्प हुँदा सयौं यात्रु प्रभावित बनेका थिए। प्रहरीका अनुसार सोमबार राति आएको रोशी खोलाको बाढीले माप्तीस्थित राजमार्गको मङ्गलटारतर्फको खण्डमा थप क्षति पुर्याएको छ, जसले गर्दा तत्काल सडक पुनः सञ्चालनमा ल्याउन सकिएको थिएन।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले दिएको जानकारीअनुसार प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आज बिहानैदेखि सडक खुलाउने प्रयास जारी छ। उनका अनुसार एकतर्फी रूपमा भए पनि सवारी आवागमन सुरु गर्ने प्रयास गरिएको छ।
प्रहरीले अवरुद्ध राजमार्गमा अलपत्र परेका १७ यात्रुको सुरक्षित उद्धार गरेको जानकारी दिएको छ। ती यात्रुहरू राति बाटोमै रोकिएका थिए।
उक्त स्थानमा निर्माण गरिएको अस्थायी डाइभर्सन गत वर्ष असोजमा आएको बाढीले पुरानो सडक बगाएपछि बनाइएको हो। अस्थायी संरचना भएकाले यस वर्षको बाढीले फेरि क्षति पुर्याएको हो।
यसैबीच, सोमबारको वर्षाले अर्को दुखद घटना पनि निम्त्याएको छ। पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा साँझ करिब ६ बजे मेला गएर फर्किंदै गरेकी एक महिला ढलमले खोलाले बगाउँदा बेपत्ता भएकी छन्।
बेपत्ता हुने महिला ३३ वर्षीया रेनुका गिरी रहेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए। खोजीकार्य सोमबार राति अबेरसम्म जारी रहे पनि सफल हुन नसकेको बताइएको छ। मंगलबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको टोली परिचालन गरी खोजी कार्य पुनः सुरु गरिएको छ।
वर्षाले पनौती क्षेत्रका अन्य भू–भागमा समेत असर पारेको छ। पनौती बसपार्क आसपासका क्षेत्रहरू डुबानमा परेका छन्। त्यस्तै, खोलाबाट बाढी पस्दा आलु खेतीमा पनि व्यापक क्षति पुगेको बताइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। आगामी केही दिन वर्षा सम्भावित भएकाले नदी तथा खोलानाला नजिक नजान र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ। रासस
प्रकाशित मिति: २०२५-०५-१३ , समय : ०९:०५:०७ , २ महिना अगाडि