बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

भारतीय नागरिकले ससुरालाई बाबु बनाई लिए नेपाली नागरिकता

Aarya News Desk 4600  पटक हेरिएको

बारा। बाराको पचरौता नगरपालिका– ५ मा एक भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । भारतको मोतीहारी जिल्ला जितना थानास्थित बडइला बस्ने रामकैलाश यादवले ससुरा नवल राय यादवसँग मिलेर छोरा बनी वंशजको नागरिकता लिएका थिए । रामकैलाशले झुटो विवरणको आधारमा ०६३ फागुन २६ गते नागरिकता वितरण टोलीमार्फत गाउँबाटै वंशजको आधारमा नेपाली नागरिकता हात पारेका थिए ।

उनले तत्कालीन टोली प्रमुख जटेश्वर सिंहको हस्ताक्षरमा ३३०४९/५०८३ नम्बरको नागरिकता लिएका हुन् । रामकैलाश यादवले भारत र नेपाल दुवै देशको परिचयपत्र बोकेर निर्वाध हिँडडुल गरिरहेको गुनासो स्थानीयले समेत गरेका थिए ।भारतमा उनको नाममा जातीय प्रमाणपत्र, मतदाता परिचयपत्र र आधारकार्डसमेत जारी भएको बताइएको छ ।

दोषीमाथि कारबाही गर्न नगरप्रमुख जालन्धर सिंहको माग
नक्कली कागजपत्रको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएपछि पचरौता नगरपालिकाका नगरप्रमुख जालन्धर सिंह जैसवारले दोषीमाथि कारबाहीको माग गर्दै सामाजिक सञ्जालमा घटना सार्वजनिक गरेका हुन्।

नगरप्रमुख जैसवारले पचरौता नगरपालिकाबाट एकजना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको बताए । ‘एक भारतीय नागरिकले आफ्नो ससुरालाई बुबा बनाएर वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेका पाइएको छ,’ नगर प्रमुख जैसवारले भने, ‘नागरिकता टोलीमार्फत रामकैलाशले झुटो विवरणको आधारमा नागरिकताको प्रमाण पत्र लिएका हुँदा छानबिन गरी दोषीमाथि कडा कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय बारालाई अनुरोध गर्दछु।’

नयाँ पत्रिका

प्रकाशित मिति: २०२५-०४-०९ , समय : १५:०९:२३ , ३ महिना अगाडि

error: Content is protected !!