बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

आज देशभर राम नवमी पर्व मनाइँदै

Aarya News Desk 8116  पटक हेरिएको

देवानगञ्ज । आज राम नवमी पर्व अर्थात् मर्यादा पुरुषोत्तम भगवान श्री रामको जन्म दिन मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरी भगवान श्री रामको पूजा आराधना गरी श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ ।

हिन्दु धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल नवमी तिथिमा पर्ने आजको दिनलाई भगवान श्रीरामको जन्मदिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान श्री रामका साथै नवदुर्गा देविको पनि पूजा हुन्छ ।

त्रेतायुगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा भगवान विष्णुको अवतार मर्यादा पुरुषोत्तम भगवान श्री रामको जन्म भएको थियो । संसारबाट पापी तथा दुष्ट राक्षसहरूको र दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरेको सम्झनामा यो पर्व मनाइने गरिएको हो । आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन हिन्दु धर्मावलम्बीहरू बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गएर पूजा आराधना गर्ने गर्दछन् । जसले देशभरकै राम मन्दिरमा भक्तजनको भिड लाग्ने गर्छ ।

अयोध्याका राजा दशरथका सुपुत्र भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्री रामले मिथिलाका राजा जनककी सुपुत्री सीतासँग विवाह गरिएकोले आज जनकपुरको रामजानकी मन्दिरमा भव्य पूजाआजा हुन्छ । रामजानकी मन्दिरमा नेपाल तथा भारतबाट ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।

रामनवमीको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: २०२५-०४-०६ , समय : ०८:१०:४४ , ३ महिना अगाडि

error: Content is protected !!