बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

इसेवा वालेटबाट करोडौं ठगी गर्ने गिरोह पक्राउ

Aarya News 4448  पटक हेरिएको

काठमाडौं । इसेवा वालेटबाट करोडौं ठगी गर्ने गिरोह पक्राउ परेको छ । प्रहरीले कैलालीका माइकल चौधरी, अनिल विश्वकर्मा, पीयूष श्रेष्ठ, अश्विसन चौलागाई, सत्यम् सहनी, रोशन कुमार र मुन्ना कुमारलाई पक्राउ गरेको हो।

इसेवा लगायतका मोबाइल वालेटबाट रकम चोरी भएको व्यापक गुनासोपछि अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । उनीहरुले ‘इसेवाको आधिकारिक मान्छे हूँ’ भन्दै सिस्टम अपडेटका नाममा ओटिपी मागेर वालेटबाट पैसा चोरी गर्दै आएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार यसरी उनीहरुबाट ठगिनेहरुमा सरकारी सेवाका कर्मचारी र चिकित्सकसम्म छन् ।

सीआईबीका अनुसार उक्त ठगी गिरोहका नाइके माइकल चौधरी हुन् । २२ वर्षीय माइकल आईटीका विद्यार्थीसमेत हुन् । उनले यसरी गरिएको ठगीबाट घर र गाडीसमेत किनेको भेटिएको सीआईबीले जनाएको छ । अन्यले भने उनलाई उक्त ठगीमा सघाएको सीआईबीले जनाएको छ। यति मात्र होइन, माइकलको बाइनान्स एपमा ५४ करोड बराबरको मौज्दात देखिएको छ । उक्त रकम पनि यसरी नै गरिएको ठगीबाट आएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

अनुसन्धानका क्रममा उनीहरुले यसरी ठगेको रकम क्रिप्टो मुद्रामा लगानी गरेको पाइएको छ । ठगी गर्नकै लागि उनीहरुले नक्कली कागजपत्रका आधारमा करिब ४० वटा सिमकार्ड निकालेको समेत सीआईबीले जनाएको छ । पक्राउ परेकाहरुमाथि ठगी तथा क्रिप्टो कारोबार कसुरमा पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुईजना भारतीय नागरिकको भने हुन्डी लगायत अन्य आर्थिक अपराधमा समेत कनेक्सन देखिएको सीआईबीले जनाएको प्रठ ।

प्रकाशित मिति: २०२५-०१-२५ , समय : २१:१९:५६ , ५ महिना अगाडि

error: Content is protected !!