बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

विराटनगरको गोल्डेन अस्पताल आज देखि आफ्नै भवनमा

सामान्य जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

राजीव कुशवाहा 24251  पटक हेरिएको

विराटनगर । विराटनगरको गोल्डेन अस्पताल आज देखि आफ्नै भवनमा सञ्चालनमा आएको छ ।

विराटनगर–११ जनपथ टोलमा २२ कठ्ठा जग्गामा रु ४८ करोड करोडको लागतमा नव निर्मित एक सय शैयाको अस्पताल भवनको कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो ।

अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सामान्य जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने प्रतिवद्धता व्यक्त्त गर्नु भएको छ । उहाँले प्रदेशको आर्थिक प्रगति एवं रुपान्तरण गरी गरीविका रेखामुनिका रहेका जनतालाई स्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने बताउनु भयो ।

मुख्यमन्त्री कार्कीले नेपालको स्वास्थ्य क्षेत्रमा पहिलो स्थान राख्ने शहर विराटनगर भएको बताउँदै यो शहर स्वास्थ्य सेवा उपचारको क्षेत्रमा केन्द्रको रुपमा स्थापित हुनका साथै जनताले गुणस्तरीय सेवा पाइरहेको विचार राख्नु भयो । उहाँले भन्नु भयो ‘ प्रदेश सरकार मापदण्डको परिधि भित्र रहने स्वास्थ्य संस्था एवं अस्पताल सञ्चालनको अनुमति प्रदान एवं अनुगमन गर्दै जाने छ ।’

मुख्यमन्त्री कार्कीले यस क्षेत्रबाट उत्पादन भएका चिकित्सकहरुले विदेशको मोह त्याग गरि स्वदेशमा जनताका सेवा गरिनु भएका गोल्डेन अस्पतालका श्याम रौनियार लगायत अन्य चिकित्सकप्रति आभार व्यक्त्त गर्नु भयो ।

प्रदेशको शिक्षा, कृषि, उद्योग, स्वास्थ्य, पर्यटन र सामाजिक क्षेत्रलाई आर्थिक निर्माण, रोजगार र देश विकासको आधारशिला बनाएर नेपालको विकास समृद्धिको यात्रा कोशीबाट हुने स्थापित गर्न हामीसबै जुट भई काममा लाग्न आग्रह समेत गर्नु भयो ।

गोल्डेन अस्पतालका प्रबन्ध निर्देशक एवं बरिष्ठ फिजिसियन डा. श्यामकुमार रौनियारले अबको केही समयपछि अस्पताल चौक र महेन्द्र चौकको नयाँ भवन गरी दुवै ठाउँबाट बिरामीलाई सेवा प्रवाह गर्ने बताए । केही दिन पछि अस्पताल चौकमा सञ्चालित अस्पताललाई बन्द गरेर महेन्द्र चौक पश्चिम रहेको नयाँ अस्पताल भवनबाट बिरामीलाई उपचार सेवा प्रदान गर्ने बताए ।

गोल्डेन अस्पतालका बोर्ड अफ डाइरेक्टर सनातन मण्डलले ३५ भन्दा बढि विशेषज्ञ डाक्टर कार्यरत रहेको गोल्डेन अस्पतालमा सबै रोगको उपचार सेवा उपलब्ध रहेको बताए । विस २०६८ साल देखि बहालको घरमा १५ बेडको ओपीडी सेवाबाट सञ्चालनमा आएको गोल्डेन अस्पतालले नयाँ भवनमा अस्पताल सञ्चालनमा ल्याउँदा १ सय बेडको मान्यता प्राप्त गरेका छन् । र महेन्द्र चौकको नयाँ भवनको अस्पतालबाट निम्न आयस्तर भएका बिरामीदेखि हुने खाने बिरामीहरूको एकै थलोबाट
अत्याधुनिक प्रविधिमार्फत उपचार सेवा प्रवाह हुने मण्डलले बताए ।

अस्पतालका अध्यक्ष गुलावचन्द्र रौनियार, निर्देशक श्याम रौनियार,सञ्चालक सनातन मण्डल, पूर्वमन्त्री शिवकुमार मण्डल,प्रदेशका पूर्व मन्त्रीहरु जीवन घिमिरे , जयराम यादव, वडा न ११ अध्यक्ष तीर्थेन्द्र न्यौपाने र नेकांका हसन अन्सारीले शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्दको रुपमा रहेको यस क्षेत्रमा गरीव जनतालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनु पर्नेमा जोड दिनु भयो ।

सबै राष्ट्रिय राजनैतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख उपप्रमुख र विभिन्न स्वास्थ्य संस्थाका सञ्चालकहरू गोल्डेन अस्पतालको उद्‌घाटन समारोहमा सहभागि भएका थिए ।

प्रकाशित मिति: २०२४-०८-११ , समय : २०:३२:१७ , ११ महिना अगाडि

error: Content is protected !!