बि.स. : २०८२ माघ २७, मंगलबार

नक्कली शैक्षिक प्रमाण पत्र मुद्दामा सोडारीलाई ६ महिना कैद

आर्य न्युज /Aarya News 10650  पटक हेरिएको

विराटनगर। नक्कली शैक्षिक प्रमाण पत्र भ्रष्टाचार मुद्दामा गीता सोडारी दोषी ठहर भएकी छन्। अख्तियारले शिक्षकको जागिर नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर खाएको दाबीसहित उनीविरुद्ध २०७९ सालको असोज ७ गते विषेश अदालतमा मुद्दा दर्ता गरेको थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार सोडारीलाई दोषी ठहर गर्दै ६ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको छ। विषेश अदालतका प्रवक्ता धन बहादुर कार्कीले गीता सोडारी दोषी ठहर भएको र उनलाई ६ महिना कैद र १० हजार जरिवाना गरिएको बताए। गीताविरुद्ध विषेश अदालतमा दर्ता भएको मुद्दामा कैद र जरिवाना माग दाबी गरिएको थियो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित झुट्टा प्रमाणपत्र पेश गरी भष्टाचारको कसुर गरेको देखिँदा निज शिक्षक गीता सोडारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना हुन मागदाबी गरिएको थियो।

यस दफामा ६ महिनादेखि १ वर्ष कैद र १० हजार देखि २० हजारसम्म जरिवाना को ब्यवस्था छ। नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षकको जागिर खाएको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बिशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको हो।

गीता धनगढी-९ स्थित शिव माविमा शिक्षिका थिइन्। उनले बोर्ड अफ सेकेण्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा पास गरेको नक्कली प्रमाणपत्र पेश गरेको भन्दै उजुरी परेको थियो। उनका पति सोडारी नेकपा एसका नेता हुन्।

 

प्रकाशित मिति: २०२४-०७-११ , समय : २०:०५:४३ , २ वर्ष अगाडि

error: Content is protected !!