विराटनगर । विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत सापकोटा र भन्सार अधिकृत शर्मासमेत चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन भन्सार अधिकृत सापकोटा,भन्सार अधिकृत नवकुल शर्मा,भन्सार एजेण्टका प्रतिनिधि सरन कुमार खरेल र देव इन्टरनेसनल प्रालिका सञ्चालक शेरबहादुर बस्नेतविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
चीनबाट आयात गरेको सामानको प्रज्ञानपत्र नम्बर एम ७२६ दर्ता गरेपछि सिस्टमबाटै डिलिट गरी अनियमितता गरेको उनीहरुमाथि आरोप छ। अख्तियारका प्रवक्ता नरहरि घिमिरेले चीनबाट आयात गरेको सामानको प्रज्ञानपत्र नम्बर दर्ता गरेपछि सिस्टमबाटै डिलिट गरी अनियमितता गरेको पुष्टि हुन आएकाले तत्कालिन भन्सार अधिकृत सापकोटासहित चारजनाविरुद्ध आरोप-पत्र दायर गरेको जानकारी दिए।
पैठारीकर्तालाई ८४ लाख ५५ हजार ६०५ रुपैयाँ गैरकानुनी लाभ र नेपाल सरकारको राजश्व चुहावट भइ नोक्सान भएको पुष्टि हुन आएकाले सापकोटा र शर्मालाई सोही रकम बराबरको बिगो कायम गरी आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ। अन्नपुर्ण पोस्ट
प्रकाशित मिति: २०२४-०३-२६ , समय : १९:०९:४५ , २ वर्ष अगाडि