बि.स. : २०८२ माघ २६, सोमबार

इन्धनको चरम अभावका कारण अस्पतालका सेवा नै बन्द

Aarya News Desk 2005  पटक हेरिएको

साना। यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा रहेको सबैभन्दा ठूलो अस्पताल इन्धन अभावका कारण आइतबारदेखि बन्द भएको छ।

अस्पतालका एक चिकित्सकले इन्धनको चरम अभावका कारण सेवा नै बन्द गर्नु परेको बताए। उनले नाम गोप्य राख्ने शर्तमा भने, ‘मृगौला रोगीहरूको उपचारमा विशेषज्ञता प्राप्त केन्द्र पनि समावेश रहेको अल–थावरा जनरल अस्पतालका सबै शाखाहरू ईन्धनको गम्भीर सङ्कटपछि बन्द गरिएको छ।’

‘ताइजमा रहेको सबैभन्दा ठूलो अस्पतालले घना बस्ती भएको ताइज सहरमा हजारौं बिरामीका लागि सेवा प्रदान गर्दछ,’ उनले भने। अस्पताल बन्दले बिरामीको ज्यान जोखिममा पारेको उनले बताए।

अस्पतालका अधिकारीका अनुसार अस्पतालले अन्तर्राष्ट्रिय संस्था र संयुक्त राष्ट्रसङ्घका निकायलाई सङ्कटबाट पार पाउन र स्वास्थ्य विपत्तिबाट बचाउन इन्धन उपलब्ध गराउन तत्काल अपिल गरेको छ।

सन् २०१४ को अन्त्यतिर इरान समर्थित हुथी लडाकूसमूहले उत्तरी सहरहरूमा आक्रमण गरी साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकालेपछि यमन गृहयुद्धमा फसेको छ। यस युद्धले दशौं हजार मानिसको ज्यान लिइसकेको छभने ४० लाख मानिस विस्थापित भएका छन्। युद्धले देशलाई भोकमरीको सङ्घारमा पुर्‍याएको छ। रासस

प्रकाशित मिति: २०२२-१२-२७ , समय : ०९:००:४८ , ३ वर्ष अगाडि

error: Content is protected !!